तीनजना प्रख्यात अर्थशास्त्रीलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान
News Desk
Oct-14 तारिख 06:19 बिहान

नवप्रवर्तन र नवीन सोचद्वारा प्रेरित आर्थिक वृद्धिको सिद्धान्तमा असाधारण योगदान पुर्‍याउने तीनजना प्रख्यात अर्थशास्त्री जोएल मोकिर, फिलिप अघियन र पिटर होविट  लाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल स्मारक पुरस्कार प्रदान गरिएको छ।

जोएल मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ भने, फिलिप अघियन फ्रान्सको कलेज डे फ्रान्सलन्डन स्कूल अफ इकोनोमिक्ससँग आवद्ध छन्। पिटर होविट भने अमेरिकाकै ब्राउन विश्वविद्यालयमा कार्यरत छन्।

नोबेल समितिको विज्ञप्तिअनुसार, मोकिरको अनुसन्धानले “आविष्कार र नवप्रवर्तनहरू कसरी एकअर्कालाई प्रोत्साहित गर्दै आत्म–सृजनशील प्रवृत्तिको श्रृंखला बनाउँछन्” भन्ने कुरा स्पष्ट पारेको छ। उहाँको कार्यले केवल के काम गर्छ भन्ने नभई किन गर्छ भन्ने गहिरो वैज्ञानिक व्याख्याको आवश्यकता पनि औँल्याएको समितिको भनाइ छ।

त्यसैगरी, अघियन र होविटले सन् १९९२ मा प्रकाशित आफ्नो चर्चित अनुसन्धानपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको प्रक्रिया स्पष्ट पारेका थिए। उनीहरूले “रचनात्मक विनाश” (Creative Destruction) को अवधारणामा आधारित गणितीय मोडेल विकास गर्दै, नयाँ र उन्नत उत्पादनहरूले पुराना उत्पादन र कम्पनीहरूलाई प्रतिस्थापन गर्ने प्रक्रियालाई आर्थिक विकासको प्रमुख इन्धनका रूपमा चित्रण गरेका थिए।

अर्थशास्त्र पुरस्कार समितिका अध्यक्ष प्रोफेसर ह्यासलरका शब्दमा — “यी विद्वानहरूको कार्यले देखाउँछ कि आर्थिक वृद्धि सहज प्रक्रियामात्र होइन, निरन्तर रचनात्मक विनाशका संयन्त्रहरूद्वारा सशक्त रहनुपर्ने एक जटिल गतिशीलता हो।”

गत वर्ष यो पुरस्कार तीन अर्थशास्त्री — डारोन एसेमोग्लु, साइमन जोनसन र जेम्स ए. रोबिन्सन — लाई प्रदान गरिएको थियो। तिनीहरूले किन केही देशहरू समृद्ध र केही गरीब रहन्छन् भन्ने प्रश्नमा गहिरो अध्ययन गर्दै, खुला र स्वतन्त्र समाजहरूमा आर्थिक प्रगतिको सम्भावना बढी रहने निष्कर्ष प्रस्तुत गरेका थिए।

औपचारिक रूपमा यो पुरस्कारलाई “अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा बैंक अफ स्विडेन पुरस्कार” भनिन्छ। स्विडेनको केन्द्रीय बैंकले सन् १९६८ मा यसको स्थापना गरेको थियो, १९औँ शताब्दीका प्रसिद्ध आविष्कारक र उद्यमी अल्फ्रेड नोबेलको स्मृतिमा। नोबेलले डाइनामाइट आविष्कार गर्दै पाँच प्रमुख नोबेल पुरस्कारहरूको परम्परा सुरु गरेका थिए।

स्थापनादेखि हालसम्म यो पुरस्कार ५६ पटकमा ९६ जना विज्ञहरूलाई प्रदान भइसकेको छ, जसमा तीन जना महिला अर्थशास्त्रीहरू पनि समावेश छन्।

यद्यपि नोबेल परम्पराका केही शुद्धतावादीहरूले यस पुरस्कारलाई औपचारिक अर्थमा “नोबेल पुरस्कार” होइन भन्ने तर्क गर्छन्, यो पनि अन्य नोबेल पुरस्कारहरू सरह प्रत्येक वर्ष डिसेम्बर १० मा — अल्फ्रेड नोबेलको निधन दिवसमा — प्रदान गरिन्छ।

यसअघि नै चिकित्सा, भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य र शान्तिका पुरस्कारहरूको घोषणा भइसकेको छ।

धेरै पढिएको