तेल अवीव | युद्धविराम सम्झौता कार्यान्वयनको बीचमा इजरायल र हमासबीच पुनः आरोप–प्रत्यारोप सुरु भएको छ। दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्, जसका कारण शान्ति प्रयास फेरि जोखिममा परेको छ।
इजरायलले हमासले सम्झौताअनुसार मृतक बन्धकहरूको शव फिर्ता गर्न आनाकानी गरेको दाबी गरेको छ। सम्झौता अनुसार २८ जनाको शव फिर्ता गर्नुपर्नेमा हमासले केवल १० वटा मात्र हस्तान्तरण गरेको बताइएको छ। बाँकी शव फिर्ता गर्न ढिलाइ गर्दै हमासले युद्धविराम सम्झौता तोडेको आरोप इजरायलको छ।
तर हमासले इजरायली सेनाले गाजामा सैन्य कारबाही जारी राखेको भन्दै उल्टै इजरायलमाथि युद्धविराम उल्लंघनको आरोप लगाएको छ। हमासका एक वरिष्ठ अधिकारीका अनुसार, इजरायली आक्रमणमा शुक्रबारयता कम्तीमा २४ जनाको मृत्यु भएको छ। उक्त विवरण मध्यस्थकर्तालाई आधिकारिक रूपमा बुझाइएको बताइएको छ।
इजरायलले भने आज ३० बन्दीको शव हमासतर्फ हस्तान्तरण गरेको जनाएको छ। यसैबीच, बन्धकहरूको शव फिर्ता गर्ने विवादले युद्धविराम सम्झौता भङ्ग हुने सम्भावना बढाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन।
युद्धका बीचमा राष्ट्रसंघीय खाद्य कार्यक्रम (व्फ्प्) ले गाजामा मानवीय राहत पुर्याउने कार्य सुरु गरेको छ। दैनिक ६ सय ट्रक गाजा प्रवेश गर्ने सहमति भए पनि, हाल थोरै मात्र राहत सामग्री बोकेका ट्रकहरूलाई अनुमति दीएको जनाइएको छ। इजरायलले पनि प्यालेस्टिनी नागरिकको आवतजावतका लागि रफाह नाका पुनः खोल्ने तयारी गरिरहेको छ।
त्यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजा युद्धका लक्ष्यहरू अझै अपूर्ण रहेको बताउँदै युद्ध जारी रहने संकेत दिएका छन। हमास आक्रमणको दुई वर्ष पूरा भएको अवसरमा आयोजित कार्यक्रममा उनले भने, “इजरायललाई धम्की दिनेहरूले ठूलो मूल्य चुकाउनेछन्, युद्ध अझै सकिएको छैन।”