आक्रमणमा तीन अफगान खेलाडीको मृत्यु
News Desk
Oct-19 , 2025 तारिख 06:22 बिहान

अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले पक्तिका प्रान्तमा भएको आक्रमणमा तीन अफगान खेलाडीको मृत्यु भएको पुष्टि गरेको छ। एसीबीले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाको तीव्र निन्दा गरेको छ र यसलाई खेल spirit विरुद्धको अमानवीय कार्य भनेको छ।

बोर्डका अनुसार शुक्रबार साँझ पाकिस्तानतर्फबाट भएको आक्रमणमा खेलाडीहरू कबीर, सिब्घाटुल्लाह र हारुनको मृत्यु भएको हो। सो घटनामा पाँच जना सर्वसाधारणले पनि ज्यान गुमाएका छन्।

तीन खेलाडीको तस्बिर सार्वजनिक गर्दै एसीबीले भनेको छ, “हाम्रो प्रतिभाशाली खेलाडीहरूलाई लक्षित गरी गरिएको यो आक्रमण खेल र मानवताको मर्यादामाथिको प्रत्यक्ष आघात हो।”

यस घटनापछि एसीबीले आगामी नोभेम्बर महिनामा पाकिस्तान, अफगानिस्तान र श्रीलंका बीच हुने तय भएको त्रिकोणात्मक टी–२० श्रृंखलामा भाग नलिने घोषणा गरेको छ।

बोर्डले थप उल्लेख गरेको छ, “शहीद खेलाडीहरूप्रति सम्मानका रूपमा र राष्ट्रिय स्वाभिमानका कारण हामीले पाकिस्तानसँगको खेल स्थगित गर्ने निर्णय गरेका छौं।”

नोभेम्बर १७ देखि २९ तारिखसम्म लाहोर र रावलपिंडीमा खेलिने तय भएको उक्त श्रृंखलाबारे पाकिस्तान क्रिकेट बोर्डले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

धेरै पढिएको