एयर चाइनाको एक विमानमा आगलागी भएपछि सिङ्गापुरमा आपतकालीन अवतरण
News Desk
Oct-19 , 2025 तारिख 07:38 बिहान

सिङ्गापुर | एयर चाइनाको एक विमानमा आगलागी भएपछि सिङ्गापुरमा आपतकालीन अवतरण गरिएको छ। चीनको दक्षिणपश्चिमी सहर छेन्दुबाट उडेको सीए–४०३ विमानको बायाँ इन्जिनमा आगो लागेपछि आज दिउँसो विमानले सिङ्गापुरको चाङ्गी विमानस्थलमा आपतकालीन रूपमा अवतरण गरेको हो।

विमानस्थलले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिअनुसार उडानका क्रममा विमानको फरवार्ड कार्गो होल्ड र शौचालयतर्फबाट धुवाँ देखिएको थियो। त्यसपछि तत्काल आपतकालीन अवतरणको तयारी गरिएको र विमान स्थानीय समय अनुसार अपराह्न ४ः१५ बजे सुरक्षित रूपमा अवतरण गरिएको जनाइएको छ।

विमानमा १४६ जना यात्रु र नौ जना चालक दलका सदस्य थिए। सबैलाई सकुशल बाहिर निकालिएको भए पनि धुवाँ र घर्षणका कारण नौ जना यात्रु सामान्य रूपमा घाइते भएका छन। उनीहरूलाई नजिकैको अस्पतालमा उपचारका लागि पठाइएको सिङ्गापुरको नागरिक उड्डयन प्राधिकरण (सीएएएस)ले जनाएको छ।

विमानको बायाँ इन्जिनमा लागेको आगो नियन्त्रणमा लीसकिएको र तत्काल उद्धार कार्य सम्पन्न गरिएको विज्ञप्तिमा उल्लेख छ। घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

सो क्रममा केही समयका लागि धावनमार्ग बन्द गरिएको र अर्को विमानलाई इन्डोनेसियाको बाटाम टापुमा डाइभर्ट गरिएको थियो।

सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्वीटर) मा प्रसारित भिडियोमा यात्रुहरूलाई आपतकालीन स्लाइडमार्फत विमानबाट बाहिर निस्किरहेको देखिन्छ।

सिङ्गापुरको ट्रान्सपोर्ट सेफ्टी इन्भेस्टिगेसन ब्युरोले घटनाको अनुसन्धान सुरु गरेको र आवश्यक सहयोगका लागि चीनका सम्बन्धित निकायहरूसँग सम्पर्क गरिरहेको जनाएको छ।