News Desk
अफगानिस्तान र पाकिस्तानबीच हालै भएको रक्तपातपूर्ण सीमावर्ती संघर्षपछि क्षेत्रीय तनाव चर्किँदै गएको छ। इस्लामाबादले भारतमाथि ‘द्वन्द्व भड्काउने’ आरोप लगाउँदै तीव्र असन्तुष्टि प्रकट गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले अफगान तालिबानलाई ‘उक्साएको’ दाबी गरेका छन् भने रक्षामन्त्री ख्वाजा मुहम्मद आसिफले अफगान सरकारले भारतको ‘प्रोक्सी’को रूपमा व्यवहार गरिरहेको आरोप लगाएका छन्।
सन १९४७ मा भारत–पाकिस्तान विभाजनपछि दुवै देश स्थायी प्रतिद्वन्द्वी बनेका छन् । एकअर्कामाथि युद्ध र आतङ्कवादी गतिविधि प्रोत्साहन गरेको आरोप लगाउने परिपाटी लामो समयदेखि चलिआएको हो । पछिल्ला महिनाहरूमा अफगानिस्तानसँगको सम्बन्ध बिग्रँदै जाँदा पाकिस्तानले भारत–तालिबान सम्बन्धलाई अस्वाभाविक रूपमा नजिकिएको रूपमा हेरेको छ ।
गत अक्टोबर ९ मा तालिबानका विदेशमन्त्री आमिर खान मुत्ताकीको नयाँदिल्ली भ्रमणपछि भारत–तालिबान कूटनीतिक सम्बन्ध औपचारिक रूपमा स्थापित भयो । यो सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि कुनै वरिष्ठ तालिबान नेताको पहिलो भारत भ्रमण थियो । मुत्ताकीको स्वागतमा भारतले औपचारिक र उच्चस्तरीय सम्मान देखाएको दिनै पाकिस्तान सीमामा विस्फोट भएको थियो ।
अफगान मामिला विश्लेषक वाहिद फकिरीका अनुसार भारतले मुत्ताकीलाई आमन्त्रित गरेर पाकिस्तान–अफगानिस्तानबीचको तणावलाई अझ बढाउने रणनीति अपनाएको छ । विस्फोटको जिम्मेवारी कुनै समूहले नलिए पनि तालिबान सरकारले त्यसलाई पाकिस्तानको आक्रमणको रूपमा लिएको र प्रतिशोधमा आक्रमण थालेको जनाएको छ । त्यसपछि तोपखाना र ड्रोन आक्रमणको आदानप्रदान हुँदै दुवै देशबीच वर्षौंयताकै भीषण झडप भएको थियो । प्रारम्भिक युद्धविराम भङ्ग भएपछि अक्टोबर १९ मा पुनः दोस्रो युद्धविराम समझदारी गरिएको छ ।
अमेरिकी सेनाको अफगानिस्तानबाट फिर्ती र तालिबानको सत्तारोहणपछि अफगानिस्तान–पाकिस्तान सम्बन्ध क्रमशः बिग्रँदै गइरहेको छ । इस्लामाबादले सुरुमा मित्रवत् सम्बन्ध कायम रहने आशा व्यक्त गरे पनि हाल पाकिस्तानमा बढ्दो आतङ्कवादी गतिविधिले त्यो भरोसा तोडेको छ । पाकिस्तानको भनाइमा तालिबान सरकारले टिटिपी (पाकिस्तानी तालिबान) लगायतका आतङ्ककारी समूहहरूलाई सुरक्षित आश्रय दिएको छ । पाकिस्तानका सुरक्षास्रोतका अनुसार गत अक्टोबर महिनामै अफगानतर्फबाट भएका आक्रमणमा सयभन्दा बढी सुरक्षाकर्मी र प्रहरी अधिकारी मारिएका छन् । यसले पाकिस्तानमा अफगान शरणार्थीहरूमाथि कडा निगरानी र निर्वासन अभियानलाई बल दिएको छ ।
पूर्व पाकिस्तानी राजदूत मलिहा लोधीका अनुसार मुत्ताकीको भारत भ्रमणले असन्तुष्टि निम्त्याएको भए पनि पाकिस्तानको मुख्य चासो तालिबानको टिटिपीमाथिको नियन्त्रण अस्वीकारमा केन्द्रित छ । पाकिस्तानी सेनाले भारतमाथि टिटिपीलाई समर्थन गरेको आरोप लगाएको छ भने भारतले ती दाबी अस्वीकार गर्दै प्रतिक्रिया दिएको छ “पाकिस्तानले आफ्नो असफलताको दोष सधैं अरू देशमाथि थोपर्ने पुरानो बानी दोहोर्याएको हो।”
भारत–तालिबान सम्बन्धलाई प्रारम्भमा भारतको हिन्दू राष्ट्रवादी सरकारका लागि संवेदनशील विषयका रूपमा हेरिएको थियो । तर अन्तर्राष्ट्रिय क्राइसिस ग्रुपका विश्लेषक प्रवीण डोन्टीका अनुसार मुत्ताकीले भारतप्रति ऐक्यबद्धता देखाएपछि दृष्टिकोण परिवर्तन भयो । गत अप्रिल २२ मा जम्मु–काश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि मुत्ताकीले भारतसँग सहानुभूति जनाएका थिए । उक्त वक्तव्यमा काश्मीरलाई ‘भारतको जम्मु–काश्मीर’ भनेर सम्बोधन गरिएकोले पाकिस्तान झनै आक्रोशित भएको हो ।
भ्रमणको अन्त्यमा भारतले काबुलस्थित आफ्नो प्रतिनिधि कार्यालयलाई दूतावासमा स्तरोन्नति गर्ने घोषणा गर्यो । विश्लेषकहरूको मूल्याङ्कनमा यो कदम तालिबानका लागि राजनीतिक उपलब्धि र भारत–पाकिस्तान–अफगानिस्तान त्रिकोणीय सम्बन्धमा नयाँ युगको सुरुआतको सङ्केत हो । यद्यपि, यो सम्बन्ध अझै परीक्षणको चरणमै छ, जहाँ सामरिक हित र क्षेत्रीय स्थायित्वबीचको सन्तुलन खोजिनेछ ।
Agency