News Desk
जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए)माथि आफ्ना महत्वपूर्ण सूचना प्रणालीहरूमा साइबर आक्रमण गरेको आरोप लगाएको छ। चीनको राज्य सुरक्षा मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा, उक्त आक्रमणले देशको सञ्चार, वित्तीय प्रणाली र ऊर्जा आपूर्तिमा समेत जोखिम पुर्याएको दाबी गरिएको छ।
मन्त्रालयका अनुसार, सन् २०२२ मा अमेरिकी एजेन्सीले विदेशी मोबाइल फोन कम्पनीको सन्देश सेवामा रहेको कमजोरीको दुरुपयोग गर्दै चीनको राष्ट्रिय समय सेवा केन्द्रका कर्मचारीहरूको उपकरणमार्फत संवेदनशील सूचना चोरी गरेको थियो। यद्यपि, मन्त्रालयले उक्त मोबाइल ब्रान्डको नाम खुलाएको छैन।
चीनले एनएसएले विभिन्न आन्तरिक नेटवर्कहरूमा आक्रमण गर्न ४२ प्रकारका विशेष साइबर हतियार प्रयोग गरेको र सन् २०२३ देखि २०२४ सम्म प्रमुख समय प्रणालीमा प्रवेश गर्ने प्रयास गरेको आरोप लगाएको छ। मन्त्रालयले उक्त जानकारी सामाजिक सञ्जाल विच्याटमार्फत सार्वजनिक गरेको हो।
वक्तव्यमा मन्त्रालयले आफ्ना दाबीका लागि पर्याप्त प्रमाण रहेको उल्लेख गरे पनि ती प्रमाणहरू हालसम्म सार्वजनिक गरिएको छैन। चीनको राष्ट्रिय समय सेवा केन्द्रले सञ्चार, वित्त, ऊर्जा, यातायात र सुरक्षाजस्ता क्षेत्रमा समय मापन र वितरण सेवा प्रदान गर्दै आएको छ। मन्त्रालयले त्यस केन्द्रलाई साइबर जोखिम न्यूनीकरणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ।
‘अमेरिकाले अरूलाई दोषारोपण गरेर आफ्ना गैरकानुनी क्रियाकलापहरू लुकाउने प्रयास गर्दै आएको छ,’ वक्तव्यमा भनिएको छ। ‘चीनमाथि बारम्बार लगाइने साइबर आक्रमणका झूट्टा आरोपहरू अमेरिकाकै गतिविधि ढाकछोप गर्ने साधन हुन्।’
यसअघि पश्चिमी मुलुकहरूले चीनसँग सम्बन्धित ह्याकर समूहहरूद्वारा सरकारी निकाय, सञ्चार संस्था र व्यापारिक कम्पनीहरूमा आक्रमण भएको दाबी गर्दै आएका थिए। तर चीनको पछिल्लो वक्तव्यले वासिङ्टन र बेइजिङबीचको साइबर सुरक्षा, व्यापार र ताइवानसम्बन्धी विवादलाई अझ तनावपूर्ण बनाउने सङ्केत दिएको छ।
अमेरिकी दूतावासले भने चीनको आरोपबारे हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। चीनले आफ्नो वक्तव्यमा अमेरिकालाई विश्वभर साइबर आक्रमणका सबैभन्दा सक्रिय र स्थायी स्रोतका रूपमा प्रस्तुत गरेको छ।