यमनमा हुथी विद्रोहीद्वारा संयुक्त राष्ट्रका २० कर्मचारी पक्राउ
News Desk
Oct-24 , 2025 तारिख 06:53 बिहान

यमनस्थित संयुक्त राष्ट्रसंघ (यूएन) का २० जना कर्मचारीलाई हुथी विद्रोहीहरूले पक्राउ गरेको पुष्टि भएको छ। सानास्थित यूएन कार्यालयले बिहीबार जारी वक्तव्यमार्फत आफ्नो कार्यालय परिसरमा हुथी सुरक्षा बलले ‘अनधिकृत प्रवेश’ गरी कर्मचारीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो।

संयुक्त राष्ट्रसंघका आवासीय समन्वयका प्रवक्ता जिन आलमका अनुसार पक्राउ परेकामध्ये ५ जना यमनी (राष्ट्रिय) र १५ जना अन्तर्राष्ट्रिय कर्मचारी रहेका छन। उनले यस घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “हामी तत्काल यो समस्याको समाधान खोज्ने प्रयासमा छौं र सबै कर्मचारीहरूको सुरक्षित र शीघ्र मुक्तिका लागि निरन्तर सम्पर्कमा छौं।”

यूएनका अनुसार सानास्थित अधिकारीहरू, सदस्य राष्ट्रहरू र यमन सरकारबीच लगातार वार्ता भइरहेको छ । संयुक्त राष्ट्रसंघले हुथी समूहसँग आफ्ना सबै कर्मचारीहरूलाई तुरुन्तै मुक्त गर्न र सानास्थित यूएनका कार्यालय र सुविधाहरूमा पूर्ण पहुँच पुनर्स्थापित गर्न आग्रह गरेको छ ।

यो घटनाअघि पनि हुथी विद्रोहीहरूले अगस्ट ३१ मा सानास्थित यूएन कार्यालयमा छापा मारी ११ जना कर्मचारीलाई हिरासतमा लिएका थिए। ती कर्मचारीहरू अमेरिकाका लागि जासुसी गरेको आरोपमा अनुसन्धान भइरहेको हुथी अधिकारीहरूले दाबी गरेका थिए।

विद्रोही नेता अब्देल मालेक अल–हुथीले हालै टेलिभिजन सम्बोधनमार्फत आफ्नो सेनाले “शत्रुको सबैभन्दा खतरनाक जासुसी नेटवर्क भत्काएको” दाबी गरेका थिए। अन्तर्राष्ट्रिय समुदायले भने यो घटनालाई अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक मर्यादाको उल्लङ्घन भन्दै कडा विरोध व्यक्त गरेको छ ।

धेरै पढिएको