हैदरावादबाट बेंगलुरु जाँदै गरेको यात्रुबाहक बसमा आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान ग​यो
News Desk
Oct-25 , 2025 तारिख 06:14 बिहान

भारतको हैदरावादबाट बेंगलुरु जाँदै गरेको यात्रुबाहक बसमा शुक्रबार बिहान भीषण आगलागी हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ भने करिब दुई दर्जन घाइते भएका छन्। कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै बिहान १ बजे तिर बसमा अचानक आगो लागेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। बसमा ४२ जना यात्रु सवार थिए।

प्रारम्भिक जानकारी अनुसार बस सडकको डिभाइडरमा ठोक्किएपछि इन्धन ट्याङ्क फुटेर आगो फैलिएको हो। केही यात्रुहरू झ्याल र ढोका तोडेर बाहिर निस्कन सफल भए पनि धेरै जना भित्रै अड्किएर ज्यान गुमाएका छन्। घटनास्थलमा स्थानीयबासी र प्रहरीको सहयोगमा दमकलले करिब एक घण्टापछि मात्र आगो नियन्त्रणमा ल्याएको थियो।

घाइतेहरूलाई नजिकैको सरकारी अस्पतालमा भर्ना गरिएको छ, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। मृतकहरूको पहिचान कठिन भएकाले डीएनए परीक्षणको तयारी भइरहेको छ। बस निजी यातायात कम्पनीको रहेको र हैदरावादबाट बेंगलुरु जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई आर्थिक सहयोग घोषणा गरेका छन्। घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरीले विशेष टोली गठन गरेको छ।

धेरै पढिएको