News Desk
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लाडिमिर पुटिनलाई आणविक शक्तिबाट चल्ने क्षेप्यास्त्र परीक्षणको सट्टा युक्रेन युद्ध अन्त्य गर्न आग्रह गरेका छन।
ट्रम्पले अमेरिकाले हालै रुसी तट नजिकै आणविक पनडुब्बी तैनाथ गरेको जानकारी पनि दिएका छन। उनका अनुसार, अमेरिकाकहाँ संसारकै शक्तिशाली आणविक पनडुब्बी छन्, जसले आवश्यक परे सिधै रुसको तटबाटै प्रत्युत्तर दिन सक्छ।
उनले भने, “हामीलाई १४,००० किलोमिटर उडान भरिरहनु पर्दैन। हाम्रो पनडुब्बी रुसको किनारमै तयार अवस्थामा छ, र पुटिनले यो कुरा राम्ररी जान्दछन।”
यसअघि आइतबार, पुटिनले रुसले आणविक इन्धनबाट सञ्चालन हुने ‘बुरेभेस्टनिक’ क्रूज मिसाइलको सफल परीक्षण गरेको घोषणा गरेका थिए।
रुसी पक्षले दाबी गरेको छ कि यो क्षेप्यास्त्र कम उचाइमा लामो दूरीसम्म उड्न सक्षम छ र कुनै पनि मिसाइल रक्षा प्रणालीलाई छलेर प्रहार गर्न सक्ने क्षमता राख्छ।
‘बुरेभेस्टनिक’ क्षेप्यास्त्र पहिलोपटक सन २०१८ मा प्रस्तुत गरिएको परियोजना हो। हाल यसको सफल परीक्षणपछि रुसले यसलाई सैन्य तैनाथीको तयारीमा ल्याउने संकेत दिएको छ।
ट्रम्पले भने, यस्तो क्षेप्यास्त्र परीक्षणको सट्टा रुसले शान्ति र कूटनीतिक समाधानमा ध्यान दिनुपर्ने समय आएको स्पष्ट संकेत दिएका छन।