News Desk
तेल अवीव/गाजा | इजरायलले मंगलबार राति गाजाको विभिन्न क्षेत्रहरूमा ठूलो हवाई आक्रमण गरेको छ, जसमा कम्तीमा १०४ जना प्यालेस्टिनीको मृत्यु भएको र २५० भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ। इजरायली सेनाले गाजा सिटीका साथै बेइत लाहिया, नुसरत र खान युनिसका घर, विद्यालय र आवासीय भवनहरूलाई निशाना बनाउँदै ती क्षेत्रमा हवाई प्रहार गरेको हो।
इजरायली पक्षले यी आक्रमणहरू हमासका लडाकू र तिनका केन्द्रहरूलाई लक्षित गरी गरिएको दाबी गरेको छ। तर, मृत्यु हुनेहरूमा ठूलो संख्यामा महिला र बालबालिका समेत रहेका बताइएको छ, जसले मानवीय संकट झन् गहिरिँदै गएको संकेत गर्छ।
इजरायली रक्षामन्त्री इजरायल काट्जका अनुसार, “हमासले इजरायली सैनिकमाथि पुनः आक्रमण गरी मृतक बन्धकहरूको शव फिर्ता गर्ने सम्झौताको उल्लंघन गरेको” आरोप लगाइएको छ। उनले हमासले “रेडलाइन पार गरेको” भन्दै त्यसको “भारी मूल्य चुकाउनु पर्नेछ” भन्ने चेतावनीसमेत दिएका छन्।
तर, हमासले इजरायलको दाबी अस्वीकार गर्दै कुनै पनि हालको आक्रमणसँग आफ्नो संलग्नता नभएको र आफूहरू युद्धविराम सम्झौताप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको जनाएको छ। हमासका प्रवक्ताले भने, “हामीले युद्धविराम तोडेका छैनौं, बरु इजरायल स्वयंले सम्झौता उल्लंघन गर्दै निर्दोष नागरिकमाथि आक्रमण गरेको छ।”
इजरायली सेनाले भने मंगलबार रातिको आक्रमणपछि पनि बुधबार युद्धविराम सम्झौतामा औपचारिक रूपमा निरन्तरता दिने बताएको छ, तर “सम्झौता उल्लंघन भए कडा जवाफ दिइनेछ” भन्ने चेतावनीसमेत दिएको छ।
करिब २० दिनअघि मात्र इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा सेप्टेम्बर २९ मा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको उपस्थितिमा २० बुँदे शान्ति योजना प्रस्तुत गरिएको थियो, जसमा हमासले अक्टोबर ९ मा सहमति जनाएको थियो।
तर, पछिल्ला घटनाक्रमले उक्त शान्ति प्रयास फेरि असफल हुन सक्ने संकेत देखिएको छ। गाजामा अझै पनि धुवाँ र ध्वंसका दृश्य देखिन्थे भने अस्पतालहरूमा घाइतेको भीड लागेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।