ट्रम्पद्वारा नाइजेरियामा सम्भावित सैन्य कारबाहीको चेतावनी
News Desk
Nov-03 , 2025 तारिख 05:50 बिहान

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा रहेका क्रिश्चियन समुदायमाथि भइरहेको हिंसाको प्रसङ्ग उठाउँदै उक्त देशविरुद्ध सम्भावित सैन्य कारबाहीको तयारी गर्न रक्षा मन्त्रालय पेन्टागनलाई निर्देशन दिएका छन्। उहाँले नाइजेरियाली सरकारले धार्मिक हिंसा रोक्न आवश्यक कदम नचालेको आरोप लगाउँदै तत्कालै आवश्यक तयारीका लागि आदेश दिनुभएको हो।

ट्रम्पले सामाजिक सञ्जालमार्फत नाइजेरियामा क्रिश्चियन समुदायमाथि भइरहेको आमहत्याको तीव्र आलोचना गर्दै चेतावनी दिएका छन् कि यदि नाइजेरियाले यस्तो हिंसा रोक्न सकेन भने अमेरिकाले सबै प्रकारका सहयोग र सहायता कार्यक्रमहरू तुरुन्त रोक्नेछ। उहाँले अझ भनिरहेका छन् कि यदि अमेरिकाले हस्तक्षेप गर्नुपर्ने अवस्था आयो भने कारबाही छिटो, कडा र निर्दय हुनेछ।

ट्रम्पको यो चेतावनी नाइजेरियामाथि धार्मिक स्वतन्त्रता उल्लङ्घन गरेको अमेरिकी आरोप सार्वजनिक भएको भोलिपल्टै आएको हो। उहाँले नाइजेरियामा इस्लामिक चरमपन्थीहरूले क्रिश्चियन समुदायमाथि गरिरहेको आक्रमण रोक्न नसक्ने हो भने अमेरिकाले सीधा हस्तक्षेप गर्ने बताएका छन्।

तर नाइजेरियाली राष्ट्रपति बोला टिनुबुले भने ट्रम्पका आरोपहरू अस्वीकार गर्दै आफ्नो देशले सबै धर्मका समुदायको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्न अमेरिकी सरकार तथा अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गरिरहेको स्पष्ट पारेका छन्।

ट्रम्पको चेतावनीपछि अमेरिका र नाइजेरियाबीचको कूटनीतिक सम्बन्धमा तनाब बढेको छ। नाइजेरियाले आफ्नो देशको सार्वभौमसत्ता र धार्मिक सहिष्णुताप्रति प्रतिबद्ध रहेको जनाउँदै अमेरिकी टिप्पणीलाई अनुचित बताएको छ।

यो घटनाले विश्व समुदायको ध्यान फेरि एकपटक धार्मिक स्वतन्त्रता, अन्तर्राष्ट्रिय सहयोग र राष्ट्रसत्ताको संवेदनशील प्रश्नतर्फ केन्द्रित गरेको छ।

धेरै पढिएको