सुडानमा अन्त्येष्टि समारोहमा ड्रोन आक्रमण, ४० जनाको ग​यो ज्यान
News Desk
Nov-05 , 2025 तारिख 07:04 बिहान

खार्तुम | सुडानमा एक अन्त्येष्टि समारोहका क्रममा भएको ड्रोन आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्। बिबीसीका अनुसार आक्रमण सेनाको नियन्त्रणमा रहेको अल–ओबेद सहर नजिकै अल–लुवैब गाउँमा भएको हो।

मानवअधिकार संगठनहरूले जनाएअनुसार गाउँमा शोकसभा भइरहेको समयमा मानिसहरू पालमा भेला भइरहेका थिए, त्यहीबेला ड्रोनबाट बम प्रहार गरिएको हो। आक्रमणका लागि अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्स (RSF) लाई जिम्मेवार ठहराइएको छ, यद्यपि समूहले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

घाइतेमध्ये धेरैको मृत्यु उपचारका क्रममा अस्पताल लैजाने बखत भएको बताइन्छ। हाल कोरदोफान क्षेत्रमा संघर्ष तीव्र बनेको छ, जहाँ तेलका ठूला भण्डार रहेका कारण यो क्षेत्र रणनीतिक रूपमा संवेदनशील मानिन्छ।

सैन्य द्वन्द्व चर्किँदै गएपछि हालै आरएसएफले बारा सहरमाथि नियन्त्रण लिँदा करिब २० हजार मानिस विस्थापित भएका छन्। तीमध्ये धेरै विस्थापितहरू अल–ओबेद क्षेत्रतर्फ आश्रयका लागि पुगेका छन्।

 

धेरै पढिएको