आफ्ना सर्तहरूमा आधारित शान्ति वार्ता अघि नबढे नियन्त्रण क्षेत्र अझ विस्तार गर्न सकिने पुटिन​को चेतावनी
News Desk
Dec-18 , 2025 तारिख 11:51 बिहान

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सर्तहरूमा आधारित शान्ति वार्ता अघि नबढे युक्रेनमा रुसको नियन्त्रण क्षेत्र अझ विस्तार गर्न सकिने चेतावनी दिएका छन्।

वरिष्ठ सैन्य कमान्डरहरूको वार्षिक बैठकमा बोल्दै पुटिनले कूटनीतिक प्रयास असफल भएमा रुसले सैन्य शक्तिको प्रयोग गरेर आफ्ना उद्देश्य पूरा गर्ने संकेत दिएको अलजजिराले जनाएको छ। उनका अनुसार रुसले संघर्षको समाधान वार्तामार्फत खोज्न चाहेको छ र युद्धका मूल कारणहरू अन्त्य गर्न तयार छ। तर विपक्षी पक्ष र उसका विदेशी समर्थकहरूले गम्भीर संवाद अस्वीकार गरेमा सैन्य विकल्प रोज्न बाध्य हुने उनले स्पष्ट पारे।

युक्रेनले युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय प्रयासहरू तीव्र बनाइरहेका बेला पुटिनको यस्तो अभिव्यक्ति आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैका उच्चस्तरीय छलफलपछि सम्झौता पहिलेभन्दा नजिक पुगेको बताएका थिए।

यसैबीच अमेरिका, युक्रेन र युरोपेली मुलुकहरूबीच सुरक्षा ग्यारेन्टी र सीमासम्बन्धी विषयमा वार्ता जारी छ। तर नेटो सदस्यताजस्ता संवेदनशील मुद्दामा अझै सहमति जुट्न सकेको छैन।