बंगलादेशका विद्यार्थी नेता हादीको शव सिंगापुरबाट स्वदेश ल्याइयो
News Desk
Dec-20 , 2025 तारिख 06:54 बिहान

बंगलादेशको प्रमुख वैकल्पिक विद्यार्थी राजनीतिक समूह इन्कलाब मञ्चका प्रवक्ता सरिफ उस्मान हादीको शव शुक्रबार सिंगापुरबाट देशमा फर्काइएको छ। सिंगापुरमा उपचारका क्रममा हादीको मृत्यु भएको खबरपछि राजधानी ढाका र देशका अन्य जिल्लाहरूमा व्यापक विरोध प्रदर्शन र हिंसा व्यापक भएको छ।

बंगलादेश एयरलाइन्सको विमानमार्फत साँझ ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल मा उनका पार्थिव शरीर ल्याइएको थियो। शवलाई लिएर समर्थकहरू र परिवारसदस्य ढाकामा फर्किएका छन्, र उनको अन्तिम संस्कार शनिबार जुहर नमाजपछि मानिक मियाँ एभिन्यूमा हुने तयारी भइरहेको छ। 

गत वर्ष बंगलादेशमा भएको विद्यार्थी–आन्दोलनका एक मुख्य अनुहार मानिएका ३२ वर्षीय उस्मान हादी डिसेम्बर १२ मा ढाका–८ संसदीय निर्वाचन क्षेत्रमा चुनाव प्रचारका क्रममा गोली लागेर गम्भीर घाइते भएका थिए। त्यसपछि उनलाई उपचारका लागि सिंगापुर लगिएको थियो जहाँ बिहीबार उनको मृत्यु भएको थियो।

हादी ढाकामा गोली लाग्दा स्थानीय मस्जिदबाट बाहिरिँदै गर्दा अचानक अज्ञात बन्दूकधारियोंले हानेको प्रहरबाट उनको टाउकोमा चोट लागेको र त्यसपछि उनलाई अस्पताल लगिएको थियो। प्रारम्भिक तीन दिन ढाका मेडिकल कलेज मा उपचार गरेपछि थप उपचारका लागि सिंगापुर पठाइएको थियो। 

उनको मृत्युको खबर फैलिएसँगै बंगलादेशमा दंगाजस्ता प्रदर्शन सुरु भएका छन। राजधानी ढाका, सिलहट, चिटगौं, राजशाही लगायत विभिन्न स्थानमा हजारौं प्रदर्शनकारी सडकमा उत्रिएका छन र बन्दूकधारीको गिरफ्तारी, न्याय माग गर्दै हिंसा फैलिएको बताइएको छ। विरोधका क्रममा प्रोथोम आलो र डेली स्टार जस्ता प्रमुख अखबारका कार्यालयहरूमा आगजनी, तोडफोड र आक्रमण भएका समाचार आएका छन्, जसले सञ्चारमाध्यम र पत्रकारहरूको कार्यमा ठूलो अवरोध ल्याएको छ। 

प्रदर्शनकारी र भीडका केही समूहले भारत विरोधका नारा लगाएको तथा केही स्थानमा भारतीय मिशनको सुरक्षा कडा पारिएको खबर पनि आएका छन्, जसले द्विपक्षीय सम्बन्धका विषयमा थप अन्तर्राष्ट्रिय ध्यान खिचेको छ। 

बंगलादेशको अन्तरिम सरकारका मुख्य सल्लाहकार मोहम्मद युनुस ले नागरिकहरूलाई धैर्य धारण गरी शान्तिपूर्ण रहन अपील गरेका छन र हिंसात्मक गतिविधि रोक्न आग्रह गरेका छन। साथै देशभर शान्ति सुरक्षा कायम राख्न सुरक्षा बल परिचालित गरिएको र स्थिति नियन्त्रणमा राख्न प्रयास भइरहेको सरकारद्वारा जनाइएको छ।

सरिफ उस्मान हादीलाई आगामी फेब्रुअरी १२ का लागि तय भएको आम निर्वाचनमा ढाका–८ बाट सम्भावित उम्मेदवारका रूपमा प्रचार गर्दै गर्दा गोली लागेको थियो। हादी २०२४ को विद्यार्थी आन्दोलनका एक प्रमुख नेतृत्वकर्ता थिए, जसले तत्कालीन सरकारविरुद्ध आवाज उठाएका थिए र देशमा ठूलो राजनीतिक प्रभाव राख्ने युवा नेता मानिन्थे l

उनको मृत्युले बंगलादेशमा व्यापक राजनीतिक तथा सामाजिक अशान्ति उत्पन्न गरेको छ र सरकारले यस घटनाको निष्पक्ष अनुसन्धान गरिने आश्वासन दिएको छ, जबकी विरोधकारीहरूले बन्दूकधारीको छिटो गिरफ्तारी र शुरुदेखि नै न्याय सुनिश्चित गर्न दबाब दीरहेका छन।