News Desk
पाकिस्तान | पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) अन्तर्गतको विशेष अदालतले शनिबार पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक-ए-इन्साफ (पीटीआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुसरा बिबीलाई १७–१७ वर्षको जेल सजाय सुनाएको छ।
अदालतको आदेशको प्रतिलिपि उद्धृत गर्दै डन पत्रिकाले जनाएअनुसार दुवैलाई जनही एक करोड ६४ लाख रुपैयाँ जरिवाना तोकिएको छ। तोकिएको जरिवाना तिर्न नसकेमा थप जेल सजाय भोग्नुपर्ने आदेश पनि अदालतले दिएको छ।
हाल रावलपिन्डीस्थित अडियाला जेलमा रहेका इमरान खानलाई पाकिस्तान दण्ड संहिताको धारा ३४ (साझा इरादा) र ४०९ (आपराधिक विश्वासघात) अन्तर्गत १० वर्षको सश्रम कारावास सुनाइएको छ। यस्तै, भ्रष्टाचार निवारण ऐनको धारा ५(२) अन्तर्गत थप सात वर्षको सश्रम कारावासको सजाय सुनाइएको हो।
उनकी पत्नी बुसरा बिबीलाई पनि सोही कानुनी प्रावधानहरूअनुसार कुल १७ वर्षको जेल सजाय सुनाइएको समाचारमा उल्लेख छ।
यसअघि, गत अक्टोबरमा इमरान खान र बुसरा बिबीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै मुद्दालाई राजनीतिक प्रतिशोधको संज्ञा दिएका थिए। उनीहरूले यो प्रक्रिया आफूहरूलाई राजनीतिबाट अयोज्ञ ठहर गर्न र बदनाम गर्न गरिएको दाबी गरेका थिए।
डनका अनुसार इमरान खानले प्रधानमन्त्रीका रूपमा आफूले अपनाएको सबै प्रक्रिया नीतिअनुसार भएको, प्रधानमन्त्री कार्यालयको प्रोटोकल शाखाबाट प्रतिवेदन तयार गरिएको, मूल्यांकन गरिएको र भुक्तानी राष्ट्रिय कोषमा जम्मा भएपछि मात्र ती सामग्री कानुनी रूपमा राखिएको दाबी गरेका छन।