News Desk
काठमाडौँ । बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि देशमा फेरि एक राजनीतिक नेताको सार्वजनिक स्थानमै गोली हानी हत्या गरिएको छ।
बंगलादेशको प्रतिष्ठित अखबार ढाका ट्रिब्यूनका अनुसार राष्ट्रिय नागरिक पार्टी (एनसीपी)का खुलना डिभिजन प्रमुख तथा श्रमिक शक्तिका केन्द्रीय संयोजक मोतेलेब सिकदर सोमबार बिहान करिब ११ः४५ बजे खुलनाको सोनाडाङ्गा क्षेत्रमा अज्ञात समूहको गोली प्रहारबाट मारिएका हुन्।
पत्रिकाले अस्पताल स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार गोली लागेपछि सिकदरलाई तत्काल उद्धार गरी खुलना मेडिकल कलेज अस्पताल लगिएको थियो। तर उपचारका क्रममा उनको मृत्यु भएको हो। सोनाडाङ्गा मोडेल प्रहरी चौकीका अनुसन्धान इन्चार्ज अनिमेष मण्डलले सिकदरमाथि अज्ञात आक्रमणकारीहरूले गोली हानेको पुष्टि गरेका छन्।
घटनापछि सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन गरिएको छ भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। एक प्रहरी अधिकारीका अनुसार आक्रमणकारीको पहिचान र पक्राउका लागि खोजी तीव्र पारिएको छ।
यसअघि डिसेम्बर १२ मा ढाकाको एक मस्जिदबाट बाहिर निस्कने क्रममा इन्कलाब मञ्चका विद्यार्थी नेता उस्मान हादीमाथि पनि गोली प्रहार भएको थियो। टाउकोमा गोली लागेर गम्भीर घाइते भएका हादीलाई उपचारका लागि सिंगापुर लगिएको थियो। तर डिसेम्बर १८ मा उपचारकै क्रममा उनको मृत्यु भयो। हादीको हत्यापछि बंगलादेशका विभिन्न स्थानमा तनाव र हिंसात्मक घटना देखिएका थिए।
लगातार भइरहेका यस्ता घटनाले बंगलादेशको राजनीतिक वातावरण झन् अस्थिर बन्दै गएको संकेत गरेको छ।