आईएसले सञ्चालन गरिरहेका भनिएका शिविरहरूमा अमेरिकी प्रहार
News Desk
Dec-27 , 2025 तारिख 06:56 बिहान

अमेरिकाले उत्तर–पश्चिमी नाइजेरियामा इस्लामिक स्टेट (आईएस) समूहसँग आबद्ध लडाकूहरूलाई लक्षित गर्दै सैन्य आक्रमण सुरु गरेको जनाएको छ।

अमेरिकी सेनाका अनुसार सोकोटो राज्यमा आईएसले सञ्चालन गरिरहेका भनिएका शिविरहरूमा हवाई प्रहार गरिएको हो। आक्रमणबाट भएको क्षतिको यकिन विवरण सार्वजनिक नगरिए पनि अमेरिकी तथा नाइजेरियाली अधिकारीहरूले उक्त कारबाहीमा आतंककारीहरू मारिएको दाबी गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसकै दिन भएको यो आक्रमण प्रभावकारी र घातक रहेको टिप्पणी गर्नुभएको छ। उहाँले आईएस समूहलाई आतंककारी संगठनको संज्ञा दिँदै उनीहरूले निर्दोष इसाइ समुदायलाई निशाना बनाउँदै क्रूर गतिविधि गर्दै आएको आरोप लगाउनुभएको छ।

यता नाइजेरियाका विदेशमन्त्री युसुफ मैतामा तुग्गरले भने अमेरिकासँगको सहकार्यमा संयुक्त अपरेसन गरिएको स्पष्ट पार्नुभएको छ। उहाँले उक्त कारबाही कुनै धर्म विशेषलाई लक्षित नभई आतंकवादविरुद्ध केन्द्रित रहेको जिकिर गर्नुभएको छ। गुप्तचर सूचनाका आधारमा लामो समयदेखि योजनाबद्ध रूपमा अपरेसन अघि बढाइएको र आगामी दिनमा थप कारबाही हुन सक्ने उहाँको भनाइ छ।

नाइजेरियाली सरकारले देशको उत्तरपूर्वी क्षेत्रमा लामो समयदेखि बोको हराम र आईएससँग सम्बन्धित विभिन्न जिहादी समूहहरूसँग संघर्ष गर्दै आएको छ। पछिल्ला वर्षहरूमा भने ‘लकुरावा’ नामले चिनिने सानो सशस्त्र समूहले उत्तर–पश्चिमी सोकोटो क्षेत्रमा आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरिरहेको बताइएको छ।

धेरै पढिएको