युक्रेनले पुटिन​ निवास​मा ९१ वटा ड्रोन प्रयोग गरी आक्रमण गर्न खोजेको आरोप​
News Desk
Dec-30 , 2025 तारिख 07:19 बिहान

रुसले सोमबार युक्रेनले राष्ट्रपति भ्लादिमिर पुटिनको नोभगोरोडस्थित सरकारी निवासलाई लक्षित गरी आक्रमणको प्रयास गरेको आरोप लगाएको छ ।

रुसी विदेशमन्त्री सर्गेई लाभरोभका अनुसार युक्रेनले डिसेम्बर २८ र २९ को रात ९१ वटा ड्रोन प्रयोग गरी आक्रमण गर्न खोजेको थियो । तर रुसी वायु रक्षा प्रणालीले ती सबै ड्रोन निष्क्रिय पारेको दाबी उनले गरेका छन् ।

लाभरोभले उक्त घटनालाई आतंकवादी गतिविधि भन्दै रुसले यसको कडा जवाफ दिने चेतावनी दिएका छन् । उनले यस्ता कार्य सह्य नहुने स्पष्ट पारे ।

यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसको आरोपलाई निराधार र बनावटी करार दिएका छन् । उनका अनुसार रुस आफैं आक्रमण गर्ने बहाना खोजिरहेको छ । ‘रुसको उद्देश्य किएभमा सरकारी भवनहरूलाई निशाना बनाउनु हो,’ जेलेन्स्कीले भनेका छन् ।

यद्यपि आक्रमणको समयमा राष्ट्रपति पुटिन नोभगोरोडस्थित निवासमै थिए वा थिएनन् भन्ने विषय अझै पुष्टि हुन सकेको छैन । साथै, उक्त आक्रमणसम्बन्धी कुनै पनि भिडियो प्रमाण रुसले सार्वजनिक गरेको छैन ।