बंगलादेशमा पछिल्ला दुई साताभित्र ३ ज​ना हिन्दु युव​कको हत्या
News Desk
Dec-31 , 2025 तारिख 07:13 बिहान

बंगलादेशको मयमनसिंह जिल्लामा रहेको एक कपडा उद्योगभित्र गोली प्रहारबाट एक हिन्दु कामदारको ज्यान गएको छ। पछिल्ला १२ दिनको अवधिमा बंगलादेशमा हिन्दु समुदायका तीन जनाको हत्या भइसकेको यो तेस्रो घटना हो।

स्थानीय समयअनुसार सोमबार साँझ करिब ६ः४५ बजे भालुका उपजिल्लास्थित सुल्ताना स्वेटर लिमिटेड कारखानामा घटना भएको हो। मृतक कारखानामै सुरक्षा गार्डका रूपमा कार्यरत ४२ वर्षीय बजेन्द्र विश्वास रहेको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले हत्या अभियोगमा २९ वर्षीय नोमान मियालाई नियन्त्रणमा लिएको छ। प्रहरी र प्रत्यक्षदर्शीको भनाइअनुसार दुवै जना सोही कारखानामा सुरक्षा ड्युटीमा थिए। सामान्य कुराकानीकै क्रममा नोमान मियाले सरकारबाट जारी गरिएको बन्दुक बजेन्द्रतर्फ तेर्स्याएका थिए। सोही बेला बन्दुक पड्किँदा बजेन्द्रको बायाँ तिघ्रामा गोली लाग्यो र गम्भीर घाइते भएका उनको मृत्यु भयो।

बंगलादेशमा पछिल्ला दुई साताभित्र हिन्दु समुदायमाथि भएका हत्याका घटनाले चिन्ता बढाएको छ। यसअघि डिसेम्बर २४ गते बुधबार राति करिब ११ बजे राजबारी जिल्लाको होसेन्डाङ्गा गाउँमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरिएको थियो। मृतक २९ वर्षीय अमृत मण्डल उर्फ सम्राट रहेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार अमृतलाई जबरजस्ती चन्दा असुलीको आरोप लगाउँदै भिडले आक्रमण गरेको थियो। उनी होसेन्डाङ्गा गाउँकै बासिन्दा थिए। प्रहरीले अमृतविरुद्ध पाङ्सा प्रहरी चौकीमा दुईवटा मुद्दा दर्ता रहेको जनाएको छ, जसमा एउटा हत्या सम्बन्धी मुद्दा पनि रहेको बताइएको छ।

यसअघि डिसेम्बर १८ मा ढाकानजिकै हिन्दु समुदायका अर्का युवक दिपु चन्द्र दासको पनि भिडद्वारा हत्या गरिएको थियो। हत्या पश्चात् उनलाई रुखमा झुन्ड्याई जलाइएको घटनाले देशभर आक्रोश फैलिएको थियो।