News Desk
भेनेजुएलाले पछिल्ला केही महिनायता कम्तीमा पाँच जना अमेरिकी नागरिकलाई हिरासतमा लिएको अमेरिकी अधिकारीहरूले बताएका छन्। सीएनएनसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले हिरासतमा परेका व्यक्तिहरूको अवस्था फरक–फरक रहेको जानकारी दिएका छन्। उनका अनुसार केही व्यक्ति लागूऔषध तस्करीमा संलग्न हुनसक्ने आशंकामा पक्राउ परेका हुन सक्छन्। ती अमेरिकी नागरिकहरू भेनेजुएलामा किन र कुन परिस्थितिमा थिए भन्नेबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।
ट्रम्प प्रशासनका अधिकारीहरूको दाबीअनुसार राष्ट्रपति निकोलस मादुरोको नेतृत्वमा रहेको भेनेजुएला सरकारले अमेरिकामाथि दबाब सिर्जना गर्न अमेरिकी नागरिकलाई ‘दबाबको माध्यम’का रूपमा प्रयोग गरिरहेको छ। पछिल्ला महिनाहरूमा मादुरोविरुद्ध अमेरिकी दबाब बढ्दै गएको छ, जसमा लागूऔषध तस्करीसँग जोडिएका जहाजमाथि कारबाही, भेनेजुएलाको बन्दरगाह क्षेत्रमा ड्रोन आक्रमण तथा तेल नाकाबन्दीजस्ता कदम समावेश छन्।
विश्लेषकहरूका अनुसार यो रणनीति भेनेजुएलाको दीर्घकालीन सहयोगी राष्ट्र रूसको अभ्याससँग मिल्दोजुल्दो देखिन्छ। रूसमाथि पनि अमेरिकासँगको तनावपूर्ण सम्बन्धका क्रममा अमेरिकी नागरिकलाई दबाबका साधनका रूपमा प्रयोग गरेको आरोप लाग्दै आएको छ।
हिरासतमा परेका अमेरिकी नागरिकबारे पहिलोपटक ‘द न्युयोर्क टाइम्स’ले समाचार प्रकाशित गरेको हो। यस विषयमा अमेरिकी विदेश मन्त्रालयले प्रतिक्रिया दिन अस्वीकार गरेको छ भने ह्वाइट हाउसले पनि तत्काल कुनै टिप्पणी गरेको छैन।
यद्यपि ट्रम्प प्रशासनले भेनेजुएलामा सत्ता परिवर्तन खोजिरहेको औपचारिक स्वीकारोक्ति दिएको छैन, तर राष्ट्रपति मादुरोलाई अवैध शासक र लागूऔषध तस्करीसँग जोड्दै निरन्तर आलोचना गर्दै आएको छ। प्रशासनले प्रतिबन्ध, तेल जहाजमाथिको नाकाबन्दी तथा अन्य आर्थिक–वित्तीय उपायमार्फत मादुरोमाथि दबाब बढाउँदै आएको छ।
गत डिसेम्बरमा अमेरिकी विदेश मन्त्रालयले मादुरोका तीन भतिजा, उनकी भाउजू तथा अन्य आफन्तलाई लक्षित गर्दै दुई चरणमा प्रतिबन्ध घोषणा गरेको थियो। सोही समयमा सीआईए ड्रोन प्रयोग गरी भेनेजुएलाको एक बन्दरगाह क्षेत्रमा आक्रमण गरिएको सीएनएनले जनाएको छ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले डिसेम्बरमा आयोजित पत्रकार सम्मेलनमा “वर्तमान भेनेजुएला शासनसँगको यथास्थिति अमेरिका लागि अस्वीकार्य छ” भन्दै मादुरोमाथिको दबाब कायम रहने संकेत दिएका थिए।
यसबीच, भेनेजुएलाका राष्ट्रपति मादुरोले हालैको बन्दरगाह आक्रमणबारे केही दिनमा छलफल हुन सक्ने जनाउँदै देश पूर्ण रूपमा सुरक्षित रहेको दाबी गरेका छन्। राज्य सञ्चालित टेलिभिजन च्यानल भीटीभीलाई दिएको अन्तर्वार्तामा उनले राष्ट्रिय रक्षा प्रणालीले देशको भौगोलिक अखण्डता र शान्ति सुनिश्चित गरिरहेको बताए।
मानवअधिकारकर्मीहरूका अनुसार भेनेजुएलामा सयौँ व्यक्ति राजनीतिक बन्दीका रूपमा हिरासतमा छन्। तीमध्ये केहीलाई २०२४ को निर्वाचनपछि पक्राउ गरिएको हो, जसमा मादुरोले जितको दाबी गरे पनि स्वतन्त्र पर्यवेक्षकहरूले निर्वाचन अलोकतान्त्रिक भएको टिप्पणी गरेका थिए। भेनेजुएलाको मानवअधिकार संस्था ‘फोरो पेनाल’का प्रमुख आल्फ्रेडो रोमेरोका अनुसार बिहीबार दर्जनौँ बन्दी रिहा गरिए पनि तीमध्ये कुनै पनि अमेरिकी नागरिक रहेका छैनन्।