भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो श्रीमतीसहित पक्राउ :अमेरिकी राष्ट्रपति ट्रम्प
News Desk
Jan-04 तारिख 07:00 बिहान

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाविरुद्ध ठूलो स्तरको सैन्य कारबाही गरेको दाबी गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देश बाहिर पठाइएको बताएका छन्। ट्रम्पले सामाजिक सञ्जालमार्फत उक्त कारबाही सफल भएको उल्लेख गरेका हुन्।

ट्रम्पको दाबीअनुसार मादुरोको पक्राउ अमेरिका–भेनेजुएला सम्बन्ध अत्यन्त तनावपूर्ण बनेको अवस्थामै भएको हो। यसअघि पनि ट्रम्पले मादुरो नेतृत्वको सरकारलाई पटक–पटक “नार्को–आतंकवादी” सरकारको संज्ञा दिँदै आएका थिए। अमेरिकाले भेनेजुएलाको तेल ढुवानीमा संलग्न जहाजहरूमा प्रतिबन्ध लगाएको र लागुऔषध तस्करीमा संलग्न भएको आरोपसहित यस क्षेत्रमा भेनेजुएलाली डुङ्गामाथि सैन्य निगरानी तथा कारबाही बढाएको जनाइएको छ। ट्रम्पले मादुरोलाई पद छाड्न सार्वजनिक रूपमा आह्वान गरेको पनि उल्लेख गरिएको छ।

यस घटनापछि भेनेजुएला सरकारले शनिबार विज्ञप्ति जारी गर्दै अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्र उल्लङ्घन गरेको र क्षेत्रीय शान्ति तथा स्थिरतामाथि गम्भीर खतरा सिर्जना गरेको आरोप लगाएको छ। विज्ञप्तिमा काराकाससहित मिरान्डा, अरागुआ र ला गुएराका नागरिक तथा सैन्य क्षेत्रहरूमा आक्रमण गरिएको भन्दै त्यसको कडा निन्दा गरिएको छ।

भेनेजुएला सरकारले उक्त कारबाहीको उद्देश्य देशका रणनीतिक स्रोतहरू—विशेष गरी तेल र खनिज—माथि नियन्त्रण जमाउने र राजनीतिक स्वतन्त्रता कमजोर पार्ने रहेको दाबी गरेको छ। विज्ञप्तिमा साइमन बोलिभर लगायत राष्ट्रिय नेताहरूको विरासत स्मरण गर्दै “साम्राज्यवादी आक्रमण” विरुद्ध एकताबद्ध हुन सबै सामाजिक र राजनीतिक शक्तिहरूलाई आह्वान गरिएको छ।

यसैक्रममा बोलिभेरियन राष्ट्रिय सशस्त्र बललाई सार्वभौमिकता र शान्ति सुनिश्चित गर्न देशभर तैनाथ गरिएको जनाइएको छ। कूटनीतिक रूपमा संयुक्त राष्ट्र सुरक्षा परिषद् र महासचिवसमक्ष उजुरी दर्ता गरिने बताइएको छ। राष्ट्रपति मादुरोले संविधान र राष्ट्रिय सुरक्षा कानुनअनुसार राष्ट्रिय योजना कार्यान्वयन गर्न आदेश दिँदै सङ्कटकाल घोषणा गर्ने निर्णयमा हस्ताक्षर गरेको जानकारी दिइएको छ।

राज्य र नगरपालिकास्तरमा राष्ट्रिय रक्षा कमान्ड संरचना सक्रिय बनाइएको र संयुक्त राष्ट्रसंघको बडापत्रको धारा ५१ अनुसार आत्मरक्षाको अधिकार सुरक्षित राखिएको भेनेजुएलाको भनाइ छ। यसैबीच, राजधानी काराकासमा शनिबार ठूलो विस्फोट भएको र त्यसका कारण विभिन्न क्षेत्रमा बिजुली अवरुद्ध भएको सिएनएनले जनाएको छ।

घटनाप्रति प्रतिक्रिया जनाउँदै कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाविरुद्ध अमेरिकी कारबाहीबारे छलफल गर्न संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक बोलाउन आग्रह गरेका छन्।