बंगलादेशमा हिन्दु समुदायकी ४४ वर्षीया एकल महिलामाथि सामूहिक बलात्कार
News Desk
Jan-06 तारिख 06:52 बिहान

बंगलादेशमा हिन्दु समुदायकी ४४ वर्षीया एकल महिलामाथि सामूहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार बलात्कारपछि उनलाई रुखमा बाँधेर कुटपिटसमेत गरिएको थियो।

घटना झेनाइदाह जिल्लाको कालीगन्ज क्षेत्रमा भएको हो। प्रहरीले यस घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ भने अन्य आरोपितको खोजी जारी रहेको जनाएको छ।

पीडित महिलाले सोमबार दिउँसो कालीगन्ज प्रहरी कार्यालयमा चार जनाविरुद्ध उजुरी दर्ता गराएकी छन्। तीमध्ये ४५ वर्षीय हसन नामक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। उनी सोही क्षेत्रको एक गाउँका बासिन्दा हुन्।

प्रहरीका अनुसार घटनाका क्रममा महिलाको कपाल काटिएको, कुटपिट गरिएको र सम्पूर्ण घटना मोबाइल फोनमा रेकर्ड गरिएको बताइएको छ।

आफन्तलाई थुनेर बलात्कार

प्रहरी र स्थानीयवासीका अनुसार पीडित महिलाले करिब दुई वर्षअघि गाउँमै घर र जग्गा किनेकी थिइन्। उक्त जग्गा उनले साहिन नामक व्यक्तिका भाइबाट किनेकी थिइन्। त्यसयता साहिनले उनलाई पटक–पटक दुःख दिने र पैसा माग्ने गरेको बताइएको छ।

शनिबार साँझ महिलालाई भेट्न आएका उनका दुई पुरुष आफन्तको उपस्थितिमै साहिन र हसन जबरजस्ती घरभित्र प्रवेश गरेका थिए। उनीहरूले ती आफन्तलाई एक कोठामा थुनेर महिलालाई अर्को कोठामा लगेर बलात्कार गरेको आरोप छ।

घटनापछि महिला र उनका आफन्तलाई घरबाट बाहिर निकालेर रुखमा बाँधिएको र उनीहरूविरुद्ध अश्लील गतिविधिमा संलग्न भएको झुटो आरोप लगाइएको स्थानीय स्रोतले जनाएको छ।

महिला आफ्नो १० वर्षीय छोरासँग बस्दै आएकी थिइन्। स्थानीयवासीले उनलाई शनिबार राति गम्भीर अवस्थामा फेला पारेर अस्पताल पुर्‍याएका थिए। उपचारमा व्यस्त रहनुपरेकाले उजुरी दर्ता गर्न ढिलाइ भएको प्रहरीले जनाएको छ।