इन्टरनेट बन्दबीच इरानमा उग्र प्रदर्शन, सरकारमाथि बढ्दो दबाब
News Desk
Jan-10 तारिख 07:11 बिहान

इरान सरकारले इन्टरनेट र अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा अवरुद्ध गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरहरूमा व्यापक विरोध प्रदर्शन चर्किएको छ। निर्वासनमा रहेका युवराज रेजा पहलवीको आह्वानपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन्।

तेहरान र अन्य सहरका सडकहरूमा प्रदर्शनपछि तोडफोडका अवशेष छरपस्ट देखिएका छन्। कार्यकर्ताहरूले बाहिर पठाएका छोटा अनलाइन भिडियोहरूमा प्रदर्शनकारीहरूले आगजनी गर्दै इरानको ईश्वरतान्त्रिक शासनविरुद्ध चर्का नारा लगाएको देखिन्छ। लामो समय मौन रहेको इरानी राज्य टेलिभिजनले शुक्रबार पहिलो पटक प्रतिक्रिया दिँदै प्रदर्शन हिंसात्मक बनेको र केही ‘हताहत’ भएको दाबी गरेको छ, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन। राज्य सञ्चारमाध्यमले आगजनी र हिंसामा अमेरिका र इजरायलका ‘आतङ्कवादी एजेन्ट’ संलग्न रहेको आरोपसमेत लगाएको छ।

सञ्चार अवरुद्ध भएकाले प्रदर्शनको वास्तविक आकार र फैलावट तत्काल पुष्टि हुन सकेको छैन। तर कमजोर अर्थतन्त्र, चर्को महँगी र बढ्दो बेरोजगारीको पृष्ठभूमिमा सुरु भएको यो आन्दोलन पछिल्ला वर्षहरूमा सरकारका लागि सबैभन्दा गम्भीर चुनौती बनेको विश्लेषकहरूले बताएका छन्।

यस विरोधलाई निर्वासित युवराज पहलवीको आह्वानप्रति जनसमर्थन कति छ भन्ने पहिलो ठूलाे परीक्षणका रूपमा पनि हेरिएको छ। सन् १९७९ को इस्लामिक क्रान्तिभन्दा अघि देश छाड्न बाध्य भएका पूर्व शाहका छोराप्रति पछिल्ला प्रदर्शनमा खुलेर समर्थनका नारा सुनिनुले जनआक्रोशको गहिराइ झल्काएको विश्लेषण गरिएको छ।

अमेरिकास्थित मानव अधिकार निगरानी समूहका अनुसार हालसम्मको झडप र दमनमा कम्तीमा ४२ जनाको ज्यान गएको छ भने दुई हजार २७० भन्दा बढी व्यक्ति हिरासतमा परेका छन्। युवराज पहलवीले बिहीबार र शुक्रबार साँझ पुनः सडकमा उत्रिन नागरिकहरूलाई आह्वान गर्नुभएको थियो।

विश्लेषक होली डाग्रेसका अनुसार सामाजिक सञ्जालमा देखिएका प्रतिक्रियाले धेरै इरानी नागरिकहरूले इस्लामिक गणतन्त्र हटाउने उद्देश्यसहित आन्दोलनलाई गम्भीर रूपमा लिएको स्पष्ट संकेत गर्छ। उहाँका अनुसार विश्वको ध्यान हटाउन र सुरक्षाबललाई कडा कदम चाल्न सजिलो बनाउने उद्देश्यले सरकारले इन्टरनेट बन्द गरेको हो।

इन्टरनेट बन्द हुनुअघि बिहीबार साँझ तेहरानका विभिन्न बस्तीहरूमा ‘तानाशाह मुर्दावाद’ र ‘इस्लामिक गणतन्त्र मुर्दावाद’ जस्ता नाराले आकाश गुञ्जिएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। केही प्रदर्शनकारीले ‘यो अन्तिम संघर्ष हो, पहलवी फर्किन्छन्’ भन्दै शाहको समर्थनमा नारा लगाएका थिए।

युवराज पहलवीले सञ्चार अवरोधलाई जनताको आवाज दबाउने प्रयासको संज्ञा दिँदै युरोपेली नेताहरूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग सहकार्य गरी इरानी शासनलाई जवाफदेही बनाउन आग्रह गर्नुभएको छ। उहाँले इरानी जनताको आवाज दबिन नदिन अन्तर्राष्ट्रिय समुदायले सबै प्राविधिक, आर्थिक र कूटनीतिक उपाय अपनाउनुपर्ने धारणा राख्नुभएको छ।

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले शान्तिपूर्ण प्रदर्शनमा सहभागी नागरिकमाथि इरानी सुरक्षाबल वा सरकारले हत्या, अत्यधिक बल प्रयोग वा दमन गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको छ। युवराजसँग तत्काल भेट उपयुक्त नहुने बताउँदै उहाँले घटनाक्रमको परिणाम पर्खने संकेत गर्नुभएको छ।

पछिल्ला वर्षहरूमा अन्तर्राष्ट्रिय प्रतिबन्ध र क्षेत्रीय द्वन्द्वका कारण इरानको अर्थतन्त्र गहिरो संकटमा परेको छ। १२ दिने युद्धपछि रियाल मुद्रा ऐतिहासिक रूपमा कमजोर बनेको अवस्थामा सुरु भएको यो आन्दोलनले इरानको राजनीतिक भविष्य कुन दिशातर्फ मोडिन्छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ।