इरानमा पछिल्ला १५ दिन​मा कम्तीमा ५४४ जनाको ज्यान ग​तेको दाबी
News Desk
Jan-13 तारिख 07:02 बिहान

इरानमा पछिल्ला १५ दिनदेखि जारी हिंसात्मक प्रदर्शनले देशभर गम्भीर मानवीय संकट सिर्जना गरेको छ। इरानस्थित ह्युमन राइट्स एक्टिभिस्ट न्युज एजेन्सी (एचआरएएनए) का अनुसार हालसम्म कम्तीमा ५४४ जनाको ज्यान गएको छ, जसमा आठ जना बालबालिका समेत रहेका छन्। मानवअधिकार समूहहरूले मृतकको संख्या अझै बढ्न सक्ने आशंका गरेका छन्।

यसै अवधिमा करिब १० हजार ६८१ जनालाई सुरक्षाकर्मीहरूले पक्राउ गरेको जनाइएको छ। पक्राउ पर्नेमा प्रदर्शनकारी, विद्यार्थी, सामाजिक अभियन्ता र सर्वसाधारण नागरिकहरू समेत रहेको बताइन्छ। विभिन्न शहरहरूमा इन्टरनेट सेवा आंशिक वा पूर्ण रूपमा बन्द गरिएकाले वास्तविक अवस्थाबारे जानकारी संकलन गर्न कठिन भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

सीएनएनका अनुसार राजधानी तेहरानका केही अस्पतालबाहिर शवहरूको चाप बढेको देखिएको छ। अस्पताल परिसरमा आफ्ना आफन्तको खोजीमा पुगेका नागरिकहरू देखिन थालेका छन्, जसले अवस्थाको गम्भीरता झनै प्रस्ट पारेको छ। घाइतेको संख्या पनि ठूलो रहेको र स्वास्थ्य सेवामाथि चाप बढिरहेको बताइएको छ।

यसैबीच, इरानका विदेशमन्त्री अब्बास अराघचीले देशमा भइरहेको घटनाक्रमलाई ‘आतंकवादी युद्ध’ को संज्ञा दिएका छन्। उनले सोमबार एक अभिव्यक्तिमा भने, “इरानमा भइरहेको गतिविधि सामान्य विरोध होइन, यो योजनाबद्ध आतंकवादी युद्ध हो।” उनका अनुसार आतंकवादी तत्त्वहरूले सरकारी कार्यालय, प्रहरी चौकी तथा निजी व्यापारिक प्रतिष्ठानहरूमा आक्रमण गरेका छन्।

विदेशमन्त्री अराघचीले हिंसात्मक गतिविधि बाह्य शक्तिहरूको उक्साहटमा भइरहेको दाबी गर्दै सरकारले कडा कदम चाल्न बाध्य भएको बताएका छन्। यता अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाहरूले भने प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न इरानी सरकारलाई आग्रह गरेका छन्। इरानको अवस्था थप जटिल बन्दै जाँदा क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा चासो र चिन्ता बढ्दै गएको छ।