News Desk
भेनेजुएलाकी प्रमुख विपक्षी नेतृ तथा सन् २०२५ की नोबेल शान्ति पुरस्कार विजेता मारिया कोरिना मचादोले आफ्नो नोबेल पुरस्कारको पदक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई समर्पण गरेकी छन्। ह्वाइट हाउसमा भएको भेटका क्रममा उनले भेनेजुएलाको स्वतन्त्रता र लोकतन्त्रको पक्षमा ट्रम्पले देखाएको असाधारण प्रतिबद्धताको कदर गर्दै पदक हस्तान्तरण गरेकी हुन्।
भेनेजुएलामा लोकतन्त्र, मानव अधिकार र राजनीतिक स्वतन्त्रताका लागि निरन्तर संघर्ष गरेको योगदानको कदरस्वरूप मचादोलाई गत अक्टोबरमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। तर, नोबेल समितिले भने नोबेल पुरस्कार वा त्यसको पदक अर्को व्यक्तिलाई औपचारिक रूपमा हस्तान्तरण गर्न नमिल्ने नियम रहेको स्पष्ट पारेको छ।
यस विषयमा प्रतिक्रिया जनाउँदै राष्ट्रपति ट्रम्पले यसलाई आफ्नो लागि ठूलो सम्मानको विषय भएको उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत मचादोको साहस, नेतृत्व र लोकतान्त्रिक आन्दोलनप्रतिको प्रतिबद्धताको खुलेर प्रशंसा गरेका छन्। विश्लेषकहरूले यस घटनालाई भेनेजुएलामा जारी राजनीतिक संकट र त्यसप्रति अमेरिकी समर्थनको प्रतीकात्मक सन्देशका रूपमा हेरेका छन्।
यसैबीच, इरानमा प्रदर्शनकारीहरूलाई दिइन लागेको करिब ८०० जनाको सामूहिक मृत्युदण्ड तत्कालका लागि रोकिएको दाबी ह्वाइट हाउसले गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले इरानलाई गम्भीर परिणामको चेतावनी दिएपछि तेहरानले उक्त कदम स्थगित गरेको अमेरिकी सञ्चार सचिव क्यारोलिन लेभिटले जानकारी दिनुभएको हो।
ह्वाइट हाउसमा आयोजित प्रेस ब्रिफिङमा लेभिटले राष्ट्रपति ट्रम्पलाई इरानभित्रका महत्वपूर्ण स्रोतमार्फत मृत्युदण्ड कार्यान्वयन रोकिएको सन्देश प्राप्त भएको बताउनुभयो। पछिल्लो समय इरानमा आर्थिक संकट, सरकारी दमन र राजनीतिक असन्तुष्टिका कारण देशव्यापी प्रदर्शनहरू तीव्र बन्दै गएका छन्।
अमेरिकाले इरानको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको र मानव अधिकार उल्लङ्घन जारी रहे सैन्य विकल्पसहित सबै सम्भावित उपाय खुला रहेको चेतावनी दिएको छ। तर, यस विषयमा इरानी सरकारले अहिलेसम्म कुनै स्पष्ट आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।