News Desk
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाहीको चेतावनी दिएका छन्। खाडी क्षेत्रमा अमेरिकाले आफ्नो सैन्य उपस्थिति थप मजबुत बनाइरहेका बेला ट्रम्पले सैन्य टकराव टार्न इरानले दुईवटा मुख्य सर्त पूरा गर्नुपर्ने बताएका हुन्।
उनका अनुसार पहिलो सर्त इरानले कुनै पनि अवस्थामा परमाणु हतियार नहुनु हो भने दोस्रो सर्त देशभित्र भइरहेका प्रदर्शनका क्रममा नागरिकको हत्या तुरुन्त रोक्नुपर्छ। ट्रम्पले इरानमा ‘हजारौँ मानिस मारिएको’ आरोपसमेत लगाएका छन्।
ट्रम्पले भनेका छन्, “यस समयमा अत्यन्त शक्तिशाली अमेरिकी युद्धपोतहरू इरानतर्फ अघि बढिरहेका छन्। ती प्रयोग गर्न नपरे राम्रो हुनेछ।” यस अभिव्यक्तिले अमेरिका–इरानबीचको तनाव अझ चर्किएको संकेत गरेको छ।
यसको प्रतिकृयामा इरानका विदेशमन्त्री अब्बास अराग्चीले देशका सशस्त्र सेनाहरू पूर्ण तयारी अवस्थामा रहेको बताएका छन्। उनले कुनै पनि आक्रमण भएमा इरानले तत्काल र सम्पूर्ण शक्तिका साथ जवाफ दिने चेतावनी दिएका छन्। “इरानी सेनाका औँलाहरू ट्रिगरमै छन्,” भन्दै अराग्चीले आत्मरक्षाका लागि इरान पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन्।