News Desk
व्यापक आलोचनापछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिसेल ओबामाबारे नस्लवादी सन्देश समेटिएको भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन्। उक्त भिडिओ उनको आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथआउट सोसलमा पोस्ट गरिएको थियो।
६२ सेकेन्डको उक्त क्लिप ‘द लायन स्लिप्स टुनाइट’ गीतसँग जोडिएको थियो, जसको अन्त्यतिर ओबामादम्पतीलाई लक्षित आपत्तिजनक दृश्य समावेश गरिएको थियो। यो भिडिओ ट्रम्पले २०२० को राष्ट्रपति निर्वाचनमा ‘मतदाता धोखाधडी’ भएको दाबीका सन्दर्भमा सार्वजनिक गरेका थिए।
शुक्रबार पत्रकारसँग कुरा गर्दै ट्रम्पले आफूले कुनै गल्ती नगरेको दाबी गरे। उनले भिडिओ पोस्ट गर्नु अघि सुरुआती भाग मात्र हेरेको र त्यसमा ओबामाको अपमानजनक प्रस्तुति समावेश भएको जानकारी नभएको बताए। घटनाको जिम्मेवारी भने उनले आफ्ना कर्मचारीमध्ये एक जनामाथि थोपरेका छन्।
उक्त भिडिओ करिब १२ घण्टासम्म ट्रुथआउट सोसलमा उपलब्ध थियो। सुरुमा ह्वाइट हाउसले यसको बचाउ गर्दै यसलाई ‘इन्टरनेट मिम’ मात्र भनेको थियो।
तर नस्लीय संवेदनशीलतासँग जोडिएको भन्दै कडा विरोध भएपछि अन्ततः उक्त भिडिओ ट्रम्पको सामाजिक सञ्जाल खाताबाट हटाइएको हो।