हङकङका मिडिया उद्यमी जिम्मी लाईलाई २० वर्ष कैद, राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत कडा फैसला
News Desk
Feb-10 तारिख 06:29 बिहान

हङकङ । प्रजातन्त्र समर्थक मिडिया उद्यमी जिम्मी लाईलाई हङकङको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत २० वर्षको जेल सजाय सुनाइएको छ। विदेशी शक्तिसँग मिलेर षड्यन्त्र गरेको र देशद्रोहको अभियोगमा दोषी ठहर भएपछि अदालतले उनलाई लामो समयको कैद सजाय सुनाएको हो।

गत डिसेम्बरमा अदालतले जिम्मी लाईलाई विदेशी शक्तिसँग मिलिभगत गरी सरकारविरुद्ध षड्यन्त्र गरेको आरोपमा दोषी ठहर गरेको थियो। न्यायाधीशहरूले उनलाई यी षड्यन्त्रका मुख्य योजनाकार अर्थात मास्टरमाइन्डका रूपमा चित्रण गरेका थिए।

७८ वर्षीय लाईको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै सजायमा केही हदसम्म कटौती गरिएको जनाइएको छ। तर उनका परिवारले यो फैसलाप्रति गहिरो असन्तुष्टि जनाएका छन्। उनकी छोरी क्लेअर लाईले यस निर्णयलाई अमानवीय र क्रूर भन्दै आलोचना गर्नुभएको छ।

हङकङ प्रशासन तथा चीनको विदेश मन्त्रालयले भने अदालतको फैसलाले सहरमा कानुनी शासन अझै कायम रहेको सन्देश दिएको दाबी गरेका छन्। उनीहरूका अनुसार राष्ट्रिय सुरक्षासँग सम्बन्धित मुद्दामा कानुनअनुसार नै फैसला गरिएको हो।

बेइजिङले सन् २०२० मा हङकङमा राष्ट्रिय सुरक्षा कानुन लागू गरेयता सजाय पाउने व्यक्तिहरूमध्ये जिम्मी लाई सबैभन्दा उच्च प्रोफाइलका उद्यमी मानिन्छन्। यस फैसलापछि हङकङको न्याय प्रणालीमाथि प्रश्न उठाउँदै उनको रिहाइको माग गर्दै अन्तर्राष्ट्रिय समुदायबाट तीव्र प्रतिक्रिया आउन थालेका छन्।