क्यानडासँग जोडिने नयाँ पुलको उद्घाटन रोक्ने ट्रम्पको चेतावनी
News Desk
Feb-11 तारिख 06:17 बिहान

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले अमेरिका र क्यानडालाई जोड्ने नयाँ अन्तर्राष्ट्रिय पुलको उद्घाटनमा अवरोध सिर्जना गर्ने चेतावनी दिनुभएको छ। डेट्रोइट र क्यानडाको विन्डसर सहर जोड्ने निर्माणाधीन गोर्डी होवे अन्तर्राष्ट्रिय पुलको उद्घाटनको अनुमति नदिने दाबी उहाँले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सार्वजनिक गर्नुभएको हो।

करिब १ दशमलव ५ माइल लामो उक्त पुलको मुख्य निर्माण कार्य सम्पन्न भइसकेको छ। केही समय परीक्षण गरेपछि यसै वर्ष पुल सञ्चालनमा ल्याउने लक्ष्य क्यानडाले राखेको छ। चार अर्ब अमेरिकी डलरभन्दा बढी लागत लाग्ने अनुमान गरिएको यो पुल क्यानेडियन आइस हक्की खेलाडी गोर्डी होवेको नाममा नामकरण गरिएको हो।

पुलको निर्माण, सञ्चालन, मर्मतसम्भार तथा सम्पूर्ण वित्तीय भार क्यानडाले व्यहोर्दै आएको छ। यद्यपि सन् २०१२ मा भएको सम्झौताअनुसार पुलको स्वामित्व क्यानडा सरकार र अमेरिकाको मिशिगन राज्यबीच संयुक्त रहने व्यवस्था छ।

सम्झौतामा पुल निर्माणका लागि प्रयोग हुने फलाम र स्टील अमेरिका वा क्यानडामै उत्पादन गरिएको हुनुपर्ने प्रावधान पनि समावेश छ। यता राष्ट्रपति ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा सबै क्यानेडियाली सामानमा शतप्रतिशत भन्सार शुल्क लगाइने चेतावनीसमेत दिनुभएको छ।

यस अभिव्यक्तिलाई दुई देशबीचको व्यापार र पूर्वाधार सहकार्यसँग जोडेर हेरिएको छ भने पुलको भविष्यलाई लिएर अन्तर्राष्ट्रिय स्तरमा चासो बढ्दै गएको छ।

धेरै पढिएको