मङ्गोलियामा अत्यधिक चिसोका कारण जनवरी महिनामात्रै २६ हजार ३ सयभन्दा बढी चौपायाको मृत्यु
News Desk
Feb-15 तारिख 07:30 बिहान

मङ्गोलियामा ‘जुद’ (मशगम) भनिने अत्यधिक चिसोका कारण गत जनवरी महिनामात्रै २६ हजार ३ सयभन्दा बढी चौपायाको मृत्यु भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालय (NSO) ले सार्वजनिक गरेको विवरणअनुसार पश्चिमी प्रान्त उभ्स, बयन–उल्गी र जाभखानका साथै मध्य प्रान्त उभुरखाङ्गाईमा सबैभन्दा बढी क्षति भएको हो।

एनएसओका अनुसार देशका कुल २१ प्रान्तमध्ये कम्तीमा ११ प्रान्त हाल ‘जुद’ बाट प्रभावित छन्। मङ्गोलियाली भाषामा ‘जुद’ भन्नाले अत्यन्त कठोर हिउँद जनाउँछ, जसमा जमिन कडा रूपमा जम्ने वा बाक्लो हिउँले ढाकिने हुँदा चौपायाले घाँस खान नपाएर ठूलो संख्यामा मर्ने अवस्था सिर्जना हुन्छ।

पशुपालन मङ्गोलियाको अर्थतन्त्रको प्रमुख आधारमध्ये एक हो। करिब ४० प्रतिशत फिरन्ते जनसंख्या प्रत्यक्ष रूपमा यही पेशामा निर्भर रहेको छ। तर हरेक वर्ष दोहोरिने लामो र कठोर हिउँदका कारण हजारौँ गोठालाले आफ्ना पशुचौपाया गुमाउँदै आएका छन्, जसले ग्रामीण जीविकोपार्जनमा गम्भीर असर पार्दै आएको छ।

एनएसओको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२५ को अन्त्यसम्म मङ्गोलियामा करिब ५८.१ मिलियन (५ करोड ८१ लाख) चौपाया रहेको उल्लेख छ। यस्तो अवस्थामा ‘जुद’ को निरन्तर प्रभावले पशुपालन क्षेत्रमा चुनौती थपिएको छ।

धेरै पढिएको