News Desk
श्रीलंकाको तटीय क्षेत्र नजिकै हिन्द महासागरमा इरानको एक युद्धपोत डुब्दा करिब १४० जना बेपत्ता भएका छन्। श्रीलंकाको जलसेना तथा रक्षा मन्त्रालयका अनुसार इरानको ‘आइरिस डेना’ नामक जहाज श्रीलंकाको समुद्री क्षेत्रमा डुबेको हो। घटनापछि खोज तथा उद्धार अभियान सञ्चालन गरिएको छ।
श्रीलंकाली जलसेनाले हालसम्म ३२ जनाको जीवित उद्धार गरेको जनाएको छ। बेपत्ता भएका अन्य व्यक्तिको खोजी कार्य भने अझै जारी रहेको बताइएको छ।
यसैबीच अमेरिकाले उक्त जहाज आफ्नो पनडुब्बीबाट गरिएको आक्रमणका कारण डुबेको पुष्टि गरेको छ। वाशिङटनमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकी रक्षामन्त्री पिट हेगसेथले अमेरिकी पनडुब्बीको आक्रमणपछि इरानी युद्धपोत डुबेको जानकारी दिनुभयो।
उता मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण इरानमा मृत्यु हुनेको संख्या ११ सय नाघेको छ। इरानको सरकारी समाचार संस्था तस्निम न्युज एजेन्सीका अनुसार पछिल्लो पाँच दिनमा अमेरिका र इजरायलको आक्रमणमा १ हजार १ सय ४५ जनाको ज्यान गएको छ। राजधानी तेहरानसहित विभिन्न क्षेत्रमा आक्रमण जारी रहेको बताइएको छ।
यसबीच इजरायलले लेबनानतर्फ पनि सैन्य कारबाही जारी राखेको छ। दक्षिण बेरूतका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान इजरायली सेनाले आग्रह गरेको छ। अर्कोतर्फ इरानले पनि पश्चिम एसियाली क्षेत्रलाई लक्षित गर्दै आफ्नो आक्रमण जारी राखेको छ। इरानले कतारस्थित अल उदाइद सैन्य अड्डामा मिसाइल प्रहार गरेको जनाएको छ। साथै दुबईमा रहेको अमेरिकी महावाणिज्य दूतावासमा समेत आक्रमण भएको खबर सार्वजनिक भएको छ।