News Desk
भारतले टी–ट्वान्टी विश्वकप क्रिकेटमा ऐतिहासिक सफलता हासिल गर्दै लगातार दोस्रो पटक उपाधि जितेको छ। अहमदाबादमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले न्युजिल्यान्डलाई पराजित गर्दै समग्रमा तेस्रो पटक विश्वकप जित्ने पहिलो टोली बन्न सफल भएको हो।
फाइनल खेलमा टस जितेर न्युजिल्यान्डले पहिले फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५५ रनको विशाल योगफल खडा गर्यो, जुन टी–ट्वान्टी विश्वकप फाइनल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो।
विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड भने १९ ओभरमा १ सय ५९ रनमै अलआउट भयो र भारतले सहज जित दर्ता गर्यो।
भारतका लागि सञ्जु स्यामसनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ८ छक्का र ५ चौकाको मद्दतले ८९ रन बनाए। त्यस्तै अभिषेक शर्माले २१ बलमा ६ चौका र ३ छक्कासहित ५२ रन बनाए भने इशान किशनले २५ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन जोडे। उनीहरूको आक्रामक ब्याटिङले भारतलाई ठूलो स्कोर बनाउन महत्त्वपूर्ण योगदान पुर्यायो।
बलिङतर्फ जसप्रित बुमराहले ४ विकेट लिएर न्युजिल्यान्डको ब्याटिङलाई दबाबमा राखे भने अक्षर पटेलले ३ विकेट लिए। न्युजिल्यान्डका लागि टिम सिफर्टले ५२ रन बनाए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
यस जितसँगै भारत टी–ट्वान्टी विश्वकपमा लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने पहिलो टोली बनेको छ। साथै तेस्रो पटक विश्वकप जित्दै भारतले क्रिकेट इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान पनि कायम गरेको छ।