मध्यपूर्वको युद्धको असर भारतमा: ग्यास अभावले रेस्टुरेन्ट उद्योग संकटमा
News Desk
Mar-13 तारिख 06:30 बिहान

मध्यपूर्वमा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ। इरानसँगको तनावका कारण आपूर्ति श्रृंखला अवरुद्ध भएपछि खाना पकाउने ग्यासको अभाव देखिन थालेको छ। यसका कारण भारतका धेरै रेस्टुरेन्टहरू मेनु घटाउने, सेवा सीमित गर्ने र वैकल्पिक इन्धन प्रयोग गर्ने अवस्थासम्म पुगेका छन्।

दक्षिण भारतको प्रविधि केन्द्र बेङ्गलुरुस्थित ‘म्याडको’ रेस्टुरेन्टले ग्यास बचत गर्न आफ्नो लोकप्रिय परिकारहरू हटाउन बाध्य भएको जनाएको छ। रेस्टुरेन्टका निर्देशक सन्तोष अब्राहमका अनुसार ग्यासको प्रयोग घटाउन खाजा सेवा समेत अस्थायी रूपमा बन्द गरिएको छ। उनले सम्भावित संकटको संकेत पहिले देखिए पनि यसको प्रभाव यति चाँडै देखिने अपेक्षा नगरेको बताए।

भारत विश्वको दोस्रो ठूलो तरलीकृत पेट्रोलियम ग्यास (एलपीजी) आयातकर्ता हो। देशले प्रयोग गर्ने एलपीजीको करिब ९० प्रतिशत आपूर्ति होर्मुज जलडमरूमध्य हुँदै आउने गर्दछ। तर हाल मध्यपूर्वमा जारी युद्धका कारण उक्त मार्गबाट हुने ढुवानी गम्भीर रूपमा प्रभावित भएको बताइएको छ।

भारतका लाखौँ रेस्टुरेन्टहरू खाना पकाउन ग्यास सिलिन्डरमै निर्भर छन्। प्रदूषण नियन्त्रणका कारण सरकारले धेरै स्थानमा कोइला र दाउरा प्रयोग गरेर खाना पकाउन प्रतिबन्ध लगाएको छ। तर ग्यास आपूर्ति प्रभावित भएपछि अहिले व्यवसायीहरू कठिन अवस्थामा परेका छन्।

आयातमा अवरोध आएपछि भारत सरकारले ग्यास वितरणलाई कडा बनाउँदै घरपरिवार र अत्यावश्यक सेवाका क्षेत्रलाई प्राथमिकता दिएको छ। यस निर्णयले रेस्टुरेन्ट, उद्योग तथा विद्युत उत्पादन क्षेत्रमा थप दबाब सिर्जना गरेको छ।

बेङ्गलुरुको ‘गुरिल्ला डाइनर’ नामक बर्गर रेस्टुरेन्टका सुस शेफ ध्रुव थपलियालका अनुसार अहिले व्यवसाय टिकाइराख्न नै चुनौतीपूर्ण बनेको छ। उनले रेस्टुरेन्टमा जम्मा साढे दुई सिलिन्डर ग्यास मात्रै बाँकी रहेको बताए। उनका अनुसार ग्रिल चलाएमा डेढ दिन मात्र ग्यास पुग्नेछ भने फ्रायर मात्रै चलाउँदा चार दिनसम्म टिक्न सक्छ।

यसबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई आत्तिनु नपर्ने भन्दै ग्यास आपूर्ति वृद्धि गर्न सम्भावित विकल्पहरू अध्ययन गर्न समिति गठन गरिएको जानकारी दिएका छन्।

तर उद्योग प्रतिनिधिहरूले भने संकट अझ गम्भीर बन्न सक्ने चेतावनी दिएका छन्। नेसनल रेस्टुरेन्ट एसोसिएसन अफ इन्डियाका बेङ्गलुरु शाखा प्रमुख अनन्त नारायणका अनुसार बजारमा ग्यास सिलिन्डरको कालोबजारी मूल्य सामान्यभन्दा करिब दोब्बर पुगेको छ। उनले सरकारलाई तत्काल कडा कदम चाल्न आग्रह गरेका छन्।

ग्यास अभावका कारण रेस्टुरेन्टहरूले ऊर्जा बचत गर्ने विभिन्न उपाय अपनाउन थालेका छन्। लामो समय उमाल्नुपर्ने, गहिरो तल्नुपर्ने वा ढिलो पकाइने परिकारहरू मेनुबाट हटाउने र पकाउने समय घटाउन सामग्री पहिले नै भिजाएर तयार पार्ने उपाय अपनाइएको छ।

मुम्बईस्थित चिनियाँ रेस्टुरेन्ट ‘जिप्सी’ ले बाफमा पकाइने डिम सम परिकार मेनुबाट हटाएको छ। सञ्चालक अदिति लिमये कामतका अनुसार एउटा परिकार बनाउन आठदेखि दस मिनेटसम्म ग्यास निरन्तर चलाउनुपर्ने भएकाले यस्तो निर्णय लिनुपरेको हो।

कतिपय रेस्टुरेन्टहरूले वैकल्पिक इन्धनतर्फ पनि फर्कन थालेका छन्। बेङ्गलुरुको ‘द पिज्जा बेकरी’ का सञ्चालक गुरु दत्तका अनुसार पहिले हप्तामा करिब ३०० किलो दाउरा प्रयोग हुने गरेकामा अहिले ४५० देखि ६०० किलोसम्म प्रयोग भइरहेको छ। ग्यास बर्नर बन्द गरेर ओभन तताउन दाउराको प्रयोग बढाइएको उनले बताए।

यता पर्यटकीय गन्तव्य गोवास्थित ‘मोन पेटिट फ्रेरे क्याफे’ का मालिक डेनियल रोड्रिग्सले ग्यास संकट समाधानका लागि सरकारको हस्तक्षेप आवश्यक रहेको बताएका छन्। उनका अनुसार ग्यास अभावका कारण आमलेट र प्यानकेक जस्ता सामान्य परिकार तयार पार्न समेत कठिन हुन थालेको छ।

 

धेरै पढिएको