मध्यपूर्व युद्ध लम्बिए ४ करोड ५० लाख मानिस भोकमरीको जोखिममा : संयुक्त राष्ट्रसङ्घ
News Desk
Mar-18 तारिख 06:27 बिहान

जेनेभा– संयुक्त राष्ट्रसङ्घले मङ्गलबार चेतावनी दिँदै मध्यपूर्व क्षेत्रमा जारी युद्ध जुनसम्म लम्बिए थप चार करोड ५० लाख मानिस गम्भीर भोकमरीको जोखिममा पर्ने जनाएको छ।

युद्ध सुरु भएको तीन हप्तामै सयौँ व्यक्तिको ज्यान गइसकेको छ। इरानले इजरायल तथा खाडी राष्ट्रहरूमाथि प्रतिशोधात्मक आक्रमण गरेपछि क्षेत्रीय तनाव झन् बढेको छ भने इजरायलले लेबनानमा हेजबुल्लाहसँग पनि लडाइँ जारी राखेको छ।

संयुक्त राष्ट्रसङ्घअन्तर्गतको विश्व खाद्य कार्यक्रमका उपकार्यकारी निर्देशक कार्ल स्काउले जेनेभामा आयोजित पत्रकार सम्मेलनमा युद्ध लम्बिँदा महँगी बढेर ठूलो जनसङ्ख्या गम्भीर खाद्य सङ्कटतर्फ धकेलिने चेतावनी दिनुभयो।

उहाँका अनुसार यस्तो अवस्था कायम रहे विश्वव्यापी भोकमरी अहिलेसम्मकै उच्च स्तरमा पुग्नेछ, जुन अत्यन्त भयावह परिस्थिति हुने छ। हाल पनि विश्वभर करिब तीन करोड १९ लाख मानिस तीव्र खाद्य असुरक्षाबाट प्रभावित भइरहेका छन्।

स्काउले फागुन १६ गते (फेब्रुअरी २८) अघि नै विश्वले व्यापक खाद्य सङ्कटको सामना गरिरहेको उल्लेख गर्दै चरम मौसमी घटना, द्वन्द्व र भोकमरीका घटनाले समस्या अझ गम्भीर बनाएको बताउनुभयो।

उहाँले मध्यपूर्वको युद्धका कारण विश्व खाद्य कार्यक्रमको राहत तथा आपूर्ति कार्य महँगो बन्दै गएको र सञ्चालन खर्च उल्लेखनीय रूपमा बढेको जानकारी दिनुभयो। विशेषगरी इन्धनको मूल्यवृद्धि र लामो आपूर्ति मार्गका कारण खाद्यान्न वितरणमा थप चुनौती सिर्जना भएको उहाँको भनाइ छ।