News Desk
काठमाडौं ७ जेठ l रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा उच्चस्तरीय वार्ता भएको छ । दुई नेताबीच भएको भेटवार्तापछि आर्थिक व्यापारिक ऊर्जा तथा रणनीतिक सहकार्य सम्बन्धी विभिन्न सम्झौतामा हस्ताक्षर गरिएको छ ।
भेटमा दुवै नेताले रुस र चीनबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ऊर्जा प्रविधि शिक्षा तथा क्षेत्रीय सुरक्षाका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि सहमति भएको बताइएको छ । वार्तापछि ४० भन्दा बढी द्विपक्षीय सम्झौता तथा संयुक्त वक्तव्यमा हस्ताक्षर भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
वार्ताको मुख्य केन्द्र ऊर्जा सहकार्य रहेको थियो । विशेषगरी पावर अफ साइबेरिया टु ग्यास पाइपलाइन परियोजनाबारे विस्तृत छलफल भएको बताइएको छ । उक्त परियोजनामार्फत रुसको प्राकृतिक ग्यास मंगोलियाको बाटो हुँदै चीन पुर्याउने योजना रहेको छ । तर मूल्य र लगानी सम्बन्धी केही विषयमा सहमति हुन नसक्दा अन्तिम सम्झौता भने हुन सकेन ।
दुवै नेताले विश्व राजनीतिमा एकपक्षीय प्रभुत्व र दबाबको राजनीतिप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सी जिनपिङले न्यायपूर्ण र सन्तुलित विश्व व्यवस्थाको आवश्यकता रहेको बताएका छन् भने पुटिनले राष्ट्रिय सार्वभौमिकता र सुरक्षाका विषयमा रुस र चीन एकअर्काको साथमा रहने बताएका छन् ।
यो भेट अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको बेइजिङ भ्रमणपछि भएको हो । विश्लेषकहरूले रुस र चीनबीच बढ्दो रणनीतिक निकटता तथा पश्चिमी मुलुकहरूसँगको तनावका बीच यो भेटलाई महत्वपूर्ण रूपमा हेरेका छन् ।