News Desk
नयाँदिल्ली । अमेरिकी विदेशमन्त्री मार्को रुबियो ले इरानसँग सम्भावित नयाँ सम्झौता हुन लागेको संकेत गर्दै त्यसले मध्यपूर्वमा जारी तनाव र युद्ध औपचारिक रूपमा अन्त्य गर्ने वातावरण बनाउन सक्ने बताउनुभएको छ ।
भारत भ्रमणका क्रममा नयाँदिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै उहाँले आइतबारपछि विश्वले सकारात्मक समाचार सुन्न सक्ने सम्भावना रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार प्रस्तावित सहमतिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले उठाउँदै आएको स्ट्रेट अफ हर्मुजसम्बन्धी सुरक्षा चासोलाई सम्बोधन गर्नेछ ।
इरान, अमेरिका र इजरायलबीच बढ्दो तनावका कारण रणनीतिक दृष्टिले महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज केही हदसम्म प्रभावित बनेको छ । रुबियोले नयाँ प्रक्रियाले अन्ततः इरानको आणविक हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायमा रहेको डर कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
यसैबीच राष्ट्रपति ट्रम्पले पनि हर्मुज जलघाँटी खुला गर्ने विषयमा भइरहेको वार्ता उल्लेखनीय रूपमा अघि बढेको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल Truth Social मार्फत उहाँले अमेरिका, इरान तथा अन्य देशहरूबीच अन्तिम सहमति नजिक पुगेको संकेत दिनुभएको हो ।
तर सम्भावित सम्झौताले अमेरिकाभित्रै राजनीतिक विवाद उत्पन्न गरेको छ । ट्रम्प निकट मानिने सिनेटर टेड क्रुज र पूर्वविदेशमन्त्री माइक पोम्पेओ ले इरानलाई आर्थिक तथा रणनीतिक लाभ पुग्ने भन्दै प्रस्तावित सहमतिप्रति असन्तुष्टि जनाउनुभएको छ ।
क्रुजले यस्तो सम्झौता “विनाशकारी गल्ती” हुन सक्ने चेतावनी दिनुभएको छ ।
आलोचनापछि प्रतिक्रिया दिँदै रुबियोले इरानविरुद्ध सञ्चालन गरिएको ‘एपिक फ्युरी’ अभियानले आफ्नो मुख्य उद्देश्य पूरा गरिसकेको दाबी गर्नुभयो । उहाँका अनुसार उक्त अभियानमार्फत इरानको नौसैनिक क्षमता तथा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार प्रणालीलाई कमजोर बनाइएको छ । साथै, इरानको रक्षा–औद्योगिक संरचनामा समेत ठूलो क्षति पुगेको उहाँले उल्लेख गर्नुभयो ।