युरोपभरि कोरोना संक्रमण बढ्दो : कतै आंशिक लकडाउन कतै सघन उपचार कक्ष भरिभराउ
News Desk
Nov-17 तारिख 12:31 बेलुका

पेरिस (फ्रान्स) — १ मंसिर २०७८   

पेरिस (फ्रान्स), जाडो यामको ठण्डीसँगै कोरोना भाइरस फैलन थालेपछि युरोपका विभिन्न भागमा कोभिड-१९ का बिरामी फेरि बढेका छन् । यसलाई रोक्न नेदरल्याण्ड, अष्ट्रिया, जर्मनी लगायतका देशले आंशिक लकडाउन गरेका छन् भने फ्रान्स लगायतका कतिपय देशले तेस्रो खोप अनिवार्य गर्न थालेका छन् । युरोपका केही देशले खोप नलाएकाहरूका लागि तालाबन्दी लागू गर्नेदेखि केही सेवाहरूमा पहुँच सीमित गर्ने वा खोप दरहरूमा बृद्धि गर्न दबाब दिने नीतिसमेत अंगालेका छन् । कोरोना भाइरसबाटै युरोपमा सबैभन्दा बढी मानवीय क्षति व्यहोरेको इटालीले डिसेम्बरको बिदा सुरु हुनुअघि संक्रमण दर कम गर्ने प्रयासमा यसको स्वास्थ्य ग्रीन पासका नियमहरू कडाईकासाथ लागू गरेको छ । इटालीमा प्रतिबन्धको नयाँ नियमअनुसार अब कुनैपनि यात्रुमा कोभिड लक्षण देखा परेमा रेलहरू तत्कालै रोक्न सकिन्छ । सबै ट्याक्सी चालकहरूसँग मान्यताप्राप्त हरियो पास हुनु आवश्यक छ ।

इटालीका अधिकारीहरूले सोमबार कोरोनाबाट ४४ जनाको मृत्यु भएको रिपोर्ट सार्वजनिक गरेका छन् जुन अघिल्लो दिनभन्दा आठ जनाले बढी हो । युरोपमा कोरोनाबाट उच्च मृत्यु हुने पहिलो बेलायत र इटाली दोस्रो देश हो । यहाँ एक लाख ३२ हजार आठ सय १९ जनाको कोरोनाबाट मृत्यु भएको छ । जर्मनीमा सात दिनमा प्रति एक लाख बासिन्दामा ३०३ नयाँ संक्रमित सहित कोरोना फैलिने क्रम तीव्र बनिरहेको छ । बर्लिन सहरलाई समेटेको ब्रान्डनबर्ग प्रान्तमा खोप नलगाएका मानिसलाई प्रतिबन्ध लगाउने देशका धेरै संघीय राज्यहरू मध्ये पछिल्लो हो । कोरोना परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएकाले पनि रेस्टुरेन्ट, बार, संग्रहालय र अन्य सार्वजनिक स्थानहरूमा प्रवेश निषेधको निर्णय बर्लिनका अधिकारीहरूले गरेका छन् । जर्मनीमा शरदयामको बिदा सक्किएलगत्तै संक्रमण व्यापक रुपमा बढेको हो ।

चान्सलर एन्जेला मार्केलले गत शनिबार खोप नलगाएका नागरिकहरूलाई खोप लगाउन विशेष अनुरोध गरेकी थिइन् । 'यदि हामी सँगै उभियौं, यदि हामीले आफूलाई बचाउने र अरूको हेरचाह गर्ने बारे सोच्यौं भने हामी यस जाडोमा हाम्रो देशलाई धेरै बचाउन सक्छौं,' मर्केलले आफ्नो साप्ताहिक पोडकास्टमा भनेकी थिइन्, 'हाम्रा अगाडि धेरै कठिन हप्ताहरू छन् ।' जर्मनीले खोप अभियानलाई तीव्र पार्न संघर्ष गर्नुपरेको छ । किनभने हालसम्म जनसंख्याको दुई तिहाइ भन्दा अलिकति बढीले मात्रै पूर्ण रूपमा खोप लगाएका छन् । रोमानियामा कोरोना संक्रमण झनै बढेको छ । गएको बुधबार नै रोमानियाका चार जना कोरोना संक्रमित गम्भीर विरामीहरूलाई उपचारकालागि इटाली लगिएको थियो ।

रोमानियाको सघन उपचार कक्ष भरिभराउ भएको छ । सघन उपचार कक्षका लागि कुर्सीमा ठाउँ कुरेर बिरामीहरू बसिरहेको युरोन्युजले उल्लेख गरेको छ । रोमानियाले ६० हजारको परीक्षण गर्दा ६ हजार दुई सय ९१ नयाँ व्यक्तिमा कोरोना संक्रमित भएको पत्ता लाग्यो । त्यहाँ सघन उपचार कक्षमा अझै एक हजार आठ सय कोरोनाका बिरामीहरू गम्भीर अवस्थामा छन् । युक्रेनमा मंगलबार दैनिक मृत्यु हुनेको संख्याले रेकर्ड तोड्दै ८ सय ३२ मा पुगेपछि युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले खोपको दुवै मात्रा पुरा गर्नेलाई १,००० रिभनिया (लगभग ३३ युरो) भुक्तानी गरिने घोषणा गरेका छन् । युक्रेनमा कति प्रतिशतले खोपका दुवै मात्रा लगाए भन्नेपनि स्पष्ट छैन । रिपोर्टमा जम्मा २० देखि २८ प्रतिशतले मात्रै दुवै मात्रा खोप लागएको दाबी गरिएको छ । कोरोना संक्रमण तीव्र बढेपछि राजधानी किभ लगायतका केही सहरमा प्रतिबन्ध लगाइएको छ ।

युरोपमा कतै तेस्रो र कतै चौथो लहर भनिरहेका बेला फ्रान्सेली राष्ट्रपतीले भने करिब दुई हप्ता अगाडि नै कोरोनाको पाँचौं छाल आइसकेको घोषणा गरेका थिए । फ्रान्सले कोरोनाको पाँचौं लहरसँग जोडिएको स्वास्थ्य अवस्था भोगिरहेको र सम्भवतः अझै बिग्रिने अवस्थाको सामना गर्न सुरु गरिसकेको सरकारका प्रवक्ता ग्याब्रियल एटलले मिडियालाई बताइसकेका छन् । फ्रान्सको सार्वजनिक स्वास्थ्य सेवा एजेन्सीको महामारी विज्ञान बुलेटिनअनुसार प्रति हप्ता प्रति एक लाख जनसंख्यामा नयाँ केसहरूको संख्या सबै उमेर समूह र सबै क्षेत्रहरूमा बढ्दै गएको छ । फ्रान्सका विभिन्न प्रान्तहरूमा संक्रमणको अवस्था फरक फरक भएपनि सालाखाला प्रति एक लाखमा १०० का दरले संक्रमण बढीरहेको छ । संक्रमण बढ्दै गएपछि फ्रान्सेली सरकारले स्वास्थ्य क्षेत्रका सम्पूर्ण कर्मचारीलाई खोप अनिवार्य लगाउनुपर्ने र नियम उल्लंघनकर्तालाई जागिरबाट हटाउने नियम बनाएको छ । हाल सरकारले तोकेको मापदण्ड अनुसार तेस्रो खोप लगाउनपनि आव्हान गरिसकेको छ ।

बुल्गेरिया कोरोना भाइरसबाट मृत्यु हुने विश्वभरका देसहरूको सूचीमा शीर्ष स्थानमा पुगेको छ । पछिल्लो तथ्यांकमा प्रति १० लाख बासिन्दामा दुई सय ८३ दशमलव ६८ जनाको मृत्यु भइरहेको छ । अस्पतालहरू अस्थायी रूपमा सबै गैर-आकस्मिक शल्यक्रियाहरू स्थगित गर्न बाध्य भएका छन् । तैपनि कोरोनाको लहर भने अझै हटेको छैन । यही समयमा देशभरका अभिभावकहरूले व्यक्तिगत कक्षाहरू सुचारु गर्नको लागि स्कूलका विद्यार्थीहरूलाई हप्तामा एक पटक परीक्षण गर्नुपर्ने माग गर्दै प्रदर्शनी गरेका छन् । स्वास्थ्य ग्रीन पासविरुद्धको विरोध प्रदर्शन पनि बुल्गेरियामा तेस्रो हप्तामा प्रवेश गरेको छ । नेदरल्यान्ड्समा कोरोना भाइरस सकारात्मक परीक्षण गर्नेहरूको संख्या शुक्रबार १६ हजार तिन सय ६४ पुगेर पहिलेको रेकर्ड तोडिएपछि डच कार्यवाहक सरकारले शनिबार राति आंशिक तालाबन्दी लागू गर्‍यो । सो तालाबन्दी कम्तिमा तीन हप्तासम्म चल्ने छ । तालाबन्दीसँगै बार र रेस्टुरेन्टहरू बेलुका ८ बजेनै बन्द गर्नुपर्ने बनाइएको छ ।

एक करोड ७५ लाख जनसंख्या भएको नेदरल्याण्ड्समा ८४ प्रतिशत भन्दा बढीले खोपको दुवै मात्रा लगाएपनि कोरोना संक्रमितको संख्या भने बढिरहेको छ । नेदरल्याण्ड्सको उत्तरी सहर लिउवार्डेनमा गत सप्ताहन्तमा हजारौं युवाहरू एक सेन्ट्रल स्क्वायरमा भेला भएर कोरोना स्वास्थ्य नियमविरूद्ध विरोधमा उत्रिएका थिए । तिनले आतिशबाजी र आगलागीहरू गर्दै दंगा प्रहरीलाई तारो बनाएका थिए । प्रहरीले तिनलाई तितरबितर पार्न पानीका फोहोराहरू हानेको थियो । नेदरल्याण्ड्सको दक्षिणी प्रान्त लिम्बर्गका अस्पतालहरू सबैभन्दा बढी प्रभावित भएका छन् । स्वास्थ्य मन्त्रालयलाई एउटा पत्रमा प्रान्तीय अस्पतालले भनेको छ, 'हामी स्वास्थ्य सेवा पूर्ण अवरोध हुने गरी सिधा अगाडि बढिरहेका छौं । अहिले नै सम्पूर्ण प्रणाली ठप्प छ ।'

बेल्जियममा कोरोना संक्रमित भएर अस्पताल भर्ना हुनेको संख्या प्रति हप्ता ३० प्रतिशतको दरले बढिरहेको छ । सघन उपचार कक्षमा बिरामीको संख्या ५ सय नाघेपछि देशको स्वास्थ्य सेवालाई थप तनावमा पारेको छ । बेल्जियममा करिब एक महिना अघिदेखि नै संक्रमितको संख्या बढ्दै गएको हो । त्यसपछि सरकारले केही प्रतिबन्ध पुन: लागू गर्‍यो । तैपनि संक्रमण बढ्दै गएको छ । गत हप्तादेखि प्रत्येक दिन १० हजार भन्दा बढी संक्रमितको संख्या रिपोर्ट गरिएको छ। बेल्जियम सरकारले कोभिड-१९ को फैलावट नियन्त्रण गर्न कडा कदम चाल्ने विषयमा बुधबार सरकारीस्तरको बैठक बोलाएको छ । स्विट्जरल्याण्डमा शुक्रबार लगभग चार हजार कोरोना संक्रमणका नयाँ घटनाहरू रिपोर्ट गरेपछि देशको कोभिड-१९ टास्क फोर्सका प्रमुख तान्जा स्ट्याडलरले अस्पतालहरूले यस हिउँदमा ३० हजार बिरामीहरू भर्ना गर्नुपर्ने हुनसक्ने चेतावनी दिएको स्विस अखवार ल माताँले उल्लेख गरेको छ ।

पछिल्लो तथ्यांकअनुसार स्विट्जरल्याण्डको जनसंख्याको लगभग ६४ दशमलव नौ प्रतिशतले पूर्ण रूपमा खोप लगाएका छन् । यहाँपनि हरेक सप्ताहन्तमा सरकारको नेतृत्वमा खोप अभियानविरूद्ध प्रदर्शन गर्दै आएका छन् । दंगा प्रहरीले जुरिच जस्ता ठाउँहरूमा सार्वजनिक खोप साइटहरूको सुरक्षा गर्नुपरेको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि शुक्रबार डेनमार्कले पहिले प्रचलनमा ल्याएर रोकेको स्वास्थ्य डिजिटल पास पुन: लागू गर्‍यो । कोरोनालाई डेनमार्कले 'सामाजिक रूपमा गम्भीर रोग'घोषणा गरेको छ । डेनमार्कले आगामी महिनासम्म नाइटक्लब, बार, क्याफे र रेस्टुरेन्टहरूमा प्रवेश गर्न पास अनिवार्य गरेको छ । १५ वर्ष भन्दा माथिका किशोरकिशोरीले खुला आकाश मुनी दुई हजार भन्दा बढी मानिस जम्मा हुने कार्यक्रमहरूमा भाग लिँदा आफ्नो पास अनिवार्य देखाउनुपर्छ ।

भूमध्यसागरीय देश ग्रीस महामारीको पाँचौं छालमा प्रवेश गरेको छ । यहाँ चौथो लहर टरे लगत्तै युरोपभरिका पर्यटकहरू शरद ऋतुको छुट्टी मनाउन ग्रीस गएकाले संक्रमण बढेको भनाइ ग्रीस अधिकारीहरूको छ । युरो न्युजको तथ्यांकअनुसार कोरोना संक्रमितको संख्या प्रति दिन औसतमा ६ हजार सात सय १० जना छन् । ग्रीसको थेसालोनिकी र भोलोस जस्ता ठाउँहरूमा अस्पतालहरू भरिभराउ भएका छन् । त्यहाँका अस्पतालमा विरामी राख्ने क्षमता नपुगेर हलवे र पार्किङहरूमा राखिएको छ । आईसीयू ओछ्यानले धान्नै सकेको छैन । पछिल्लो समयमा कोरोना संक्रमण ज्यादै उच्चस्तरमा बढिरहेका देशहरूमा लात्भिया, क्रोएसिया, सर्बिया, रोमानिया, बुल्गेरिया, हंगेरी, पोल्याण्ड र जर्मनी देखिएका छन् । हालको बृद्धि हेर्दा पोल्याण्ड, फ्रान्स र स्पेनसमेत त्यो जोखिममा रहेको युरोपेली मिडियाले उल्लेख गरेका छन् । यस अघि नै विश्व स्वास्थ्य संगठनको युरोपेली कार्यालयले युरोपमा बेलैमा संक्रमण रोक्ने उपाय अपनाउन नसके कोरोना संक्रमणबाट फेरि पाँच लाख मानिसको ज्यान जानसक्ने चेतावनी दिइसकेको छ ।                     

( कान्तिपुर दैनिक )