News Desk
पेरिस — फ्रान्सले ओमिक्रोन भेरिएन्टको फैलावटलाई सीमित गर्न बेलायत यात्रा गर्नेहरूका लागि सर्तहरू कडा पार्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयले शुक्रबार मध्यरातदेखि शनिबारसम्म यात्रुहरूले बेलायत भ्रमण गर्न र फ्रान्स फर्कनका लागि खोप लगाएको भए पनि त्यसलाई ध्यान नदिई 'बाध्यकारी कारणहरू' प्रस्तुत गर्न बिहीबार सूचना जारी गरेको छ । बेलायती सरकारले नै 'तातो हावा जसरी ओमिक्रोन भेरिएन्ट फैलिरहेको र त्यसले देशलाई नराम्रोसित प्रभाव' पार्न सक्ने भन्दै सतर्क गराएकाले यात्रा प्रतिबन्ध कडा पारेको फ्रान्सले जनाएको छ ।
'पर्यटन र व्यापारका लागि यात्रा गर्न दिइने छैन,' प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'फ्रान्सेली नागरिकहरूका साथै उनीहरूका छोराछोरीहरू फ्रान्समा आउन सक्षम हुनेछन् । यी बाध्यकारी कारणहरू तिनका लागि लागू हुने छैनन् ।' बाध्यकारी अवस्थाको यात्रालाई फ्रान्सको परराष्ट्र मन्त्रालयले व्याख्या गरेको उल्लेख छ । खास गरेर यो नियम फ्रान्स आउने विदेशीका लागि बढी लागू हुने छ र बाध्यकारी भ्रमणबाहेक फ्रान्सबाट बेलायत जाने फ्रान्सेलीका लागि लागू हुने छ । फ्रान्सले लागू गरेको नयाँ नियममा हालको ४८ घण्टाको सट्टा, अघिल्लो २४ घण्टाभित्र फ्रान्समा कोभिड-१९ परीक्षणहरूको प्रमाण पेस गर्नुपर्ने छ । जुनसुकै माध्यमले फ्रान्स प्रवेश गरे पनि त्यसलाई लागू गरिने छ । खोप लगाएकाहरुले पनि उक्त परीक्षण देखाउनुपर्ने छ ।
बेलायतबाट फ्रान्स आइपुगेका व्यक्तिहरूले पनि आइसोलेसनमा बस्नुपर्ने र फ्रान्स प्रवेश गर्नुअघि अनलाइनबाट आफ्नो ठेगाना दर्ता गराउनुपर्ने छ । फ्रान्स सरकारले बेलायत जाने योजना बनाएका यात्रुहरूलाई आफ्नो यात्रा सारेर ढिलो गर्न आह्वान गरिरहेको छ । बेलायतले ७८,६१० दैनिक कोरोनाका संक्रमितहरू दर्ता गरेको भोलिपल्ट फ्रान्सका तर्फबाट यो घोषणा आएको हो । अहिलेसम्म फ्रान्सले आफ्नो क्षेत्रमा २४० ओमिक्रोन केसहरू पत्ता लगाएको छ । बेलायतबाट नयाँ भेरिएन्ट लिएर फ्रान्समा थप फैलनबाट रोक्न र आफ्नो देशमा नियन्त्रण गर्न फ्रान्सले यस्तो कदम चालेको फ्रान्स सरकारका प्रवक्ता गाब्रियल अटलले फ्रान्सका मिडियाहरुलाई बताएका छन् ।
( कान्तिपुर दैनिक )