व्यापक विरोध प्रदर्शनपछि सुडानका प्रधानमन्त्रीले दिए राजीनामा
News Desk
Jan-03 , 2022 तारिख 08:26 बिहान

काठमाडौँ — १९ पुस २०७८   

काठमाडौँ , सेनाले 'कु' मार्फत सत्ता कब्जा गरेको करिब २ महिनापछि सुडानका प्रधानमन्त्री अब्दुल्लाह हमदोकले राजीनामा दिएका छन् । सेनासँग विवादास्पद सम्झौता गरेपछि पुन: प्रधानमन्त्रीमा बहाल हमदोकले व्यापक विरोध प्रदर्शनपछि राजीनामा दिएका हुन् । गत अक्टोबरमा सुडानको सेनाले 'कु' मार्फत सत्ता कब्जा गरेको थियो । तर हमदोकले सत्ता साझेदारीको विवादास्पद सम्झौता गरेपछि उनलाई सेनाले पुन: प्रधानमन्त्रीमा बहाली गरेको थियो । उक्त सम्झौतामा अर्को चुनाव नहुँदासम्मको संक्रमणकाल समयसम्म हमदोकलाई प्रधानमन्त्री बनाउने उल्लेख भएको बताइन्छ ।

उक्त सम्झौता र सेनाको हस्तक्षेपको विरोधमा प्रजातन्त्रपक्षधरहरूले देशभर व्यापक प्रदर्शन गरेका थिए । उनीहरूले मुलुकमा नागरिक शासन लागू हुनुपर्ने माग गर्दै आएका छन् । हमदोकले राजीनामा दिए पनि सुडानमा प्रदर्शन भने रोकिएको छैन । प्रधानमन्त्री कार्यालयको आधिकारिकमा हमदोकले मुलुकको अस्तित्व नै संकटमा पर्ने खतरा रहेकाले आफूले राजीनामा दिएको बताएका छन् । उनले मुलुकलाई बर्बादीतर्फ जान नदिन उक्त कदम लिएको पनि बताएका छन् । उनले देशलाई बचाउन सेनासँग सहमति गरे पनि आफ्नो प्रयास असफल भएको बताएका छन् ।

उनले भनेका छन्, 'मैले प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरेको छु । अरु कोही महिला वा पुरुषलाई यो देश चलाउने मौका दिँदैछु । सत्ता हस्तान्तरणका लागि मलाई सहयोग गर्नुहोस्।'  यस बीचमा भएको प्रदर्शनमा सेनाको गोली लागेर कम्तीमा पनि ५७ जनाको मृत्यु भएको छ । सन् २०१९ मा राष्ट्रपति उमर अल बसिरको सत्ता गुमेसँगै सुडानमा अन्तरिम सरकार बनेको थियो । त्यतिबेला देखिन नै सेना र नागरिक सरकारका बीचमा खटपट सुरु भएको थियो ।

( कान्तिपुर दैनिक )

धेरै पढिएको