सिरहा कारागारमा हतियार फेला, नाइकेसहित १३ कैदी प्रहरी नियन्त्रणमा
News Desk
Feb-10 तारिख 05:53 बिहान

सिरहा । सिरहा सदरमुकामस्थित कारागारभित्र कटुवा पेस्तोल र गोली बरामद भएपछि नाइकेसहित १३ जना कैदीबन्दीलाई नियन्त्रणमा लिइएको छ। जिल्ला सुरक्षा समितिको विशेष अनुगमनका क्रममा कारागारभित्र लुकाइराखिएको हतियार फेला परेको हो।

प्रशासनका अनुसार कारागारका नाइके इन्द्रजित यादवको साथबाट एक थान कटुवा पेस्तोल र दुई थान गोली बरामद गरिएको हो। गोप्य सूचनाका आधारमा गरिएको खानतलासीमा उक्त हतियार फेला परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार आइतबार यादवको समूहले अन्य १० जना कैदीबन्दीलाई कुटपिट गरी कारागार परिसरबाट बाहिर निकालेको थियो। सो घटनापछि सुरक्षा समितिले कारागारको विशेष निरीक्षण गरेको थियो।

घटनामा संलग्न रहेको आरोपमा नाइके यादवसहित १३ जनालाई कारागारबाट निकालेर प्रहरी हिरासतमा राखिएको छ। उनीहरूलाई सुरक्षा व्यवस्थापनका लागि अन्य कारागारमा स्थानान्तरण गर्ने तयारी भइरहेको प्रशासनले जनाएको छ।

नाइके यादव पक्राउ परेपछि उनका समर्थकहरूले कारागारभित्र नाराबाजी गर्नुका साथै आगजनी र तोडफोड गरेको बताइएको छ। अवस्था नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई थप सतर्क बनाइएको छ।

क्षमता १५० जनाको रहेको उक्त कारागारमा हाल ४३७ जना कैदीबन्दी राखिएको छ। कैदीबन्दीको अत्यधिक चापकै कारण यसअघि पनि समस्या देखिँदै आएको र गत साउनमा भएको झडपमा १३ जना घाइते भएको प्रशासनले स्मरण गराएको छ।