गौरको सवगढामा विवादपछि सामाजिक सद्भाव कायम गर्न छ बुँदे सहमति
News Desk
Feb-21 तारिख 05:48 बिहान

गौर नगरपालिका ६ सवगढा गाउँमा दुई समुदायबीच उत्पन्न विवादपछि सामाजिक सद्भाव कायम गर्न छ बुँदे सहमति गरिएको छ।

बिहीबार राति विवाहको जन्तीका क्रममा मस्जिदअगाडि बाजा बजाइएको विषयलाई लिएर दुई पक्षबीच विवाद उत्पन्न भई स्थिति तनावग्रस्त बनेको थियो। विवाद उग्र बन्दै जाँदा दुवै पक्षबीच ढुंगामुढा हुँदा प्रहरीसहित दर्जनौँ व्यक्ति घाइते भएका थिए।

उक्त घटनापछि जिल्ला प्रशासन कार्यालय रौतहट मा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालको अध्यक्षतामा बैठक बसेको थियो। बैठकमा हिन्दू र मुस्लिम समुदायका प्रतिनिधिलाई सहभागी गराई वार्तामार्फत सहमति जुटाइएको हो।

विवाहका लागि गौर–६ सवगढाका सत्यनारायण साहकी छोरीको जन्ती बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढा आउने क्रममा मस्जिदअगाडि बाजा बजाइएपछि विवाद सुरु भएको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी भुसालले सामाजिक सद्भाव कायम राख्न सबैलाई संयमता अपनाउन आग्रह गर्दै दुवै पक्षबीच सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको जानकारी दिनुभयो। साथै फागुन २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्ने वातावरण बनाउन दुवै पक्ष प्रतिबद्ध भएको उहाँले बताउनुभयो।

घटनामा घाइते भएका छ जनालाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ र उनीहरूको अवस्था सामान्य रहेको जनाइएको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विष्णुप्रदीप बस्यालले जानकारी दिनुभयो।