निर्वाचन सुरक्षा र शान्तिसुरक्षाबारे छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक
News Desk
Feb-22 तारिख 06:33 बिहान

राजधानी काठमाडौंमा देशको समसामयिक अवस्था, शान्तिसुरक्षा तथा निर्वाचन व्यवस्थापनका विषयमा केन्द्रित रहेर केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ। गृह मन्त्रालयमा जारी बैठकको अध्यक्षता समितिका अध्यक्ष एवं गृहमन्त्री ओमप्रकाश अर्यालले गर्नुभएको छ।

बैठकमा चारवटै सुरक्षा निकायका उच्च पदाधिकारीहरूको सहभागिता रहेको मन्त्रालयले जनाएको छ। विशेषगरी तराई–मधेस क्षेत्रमा देखिएका सुरक्षासम्बन्धी चुनौती र आगामी निर्वाचनलाई सुरक्षित, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गर्ने विषयमा गहन छलफल भइरहेको छ।

मन्त्रालयका अनुसार बैठकमा निर्वाचन अवधिमा सम्भावित सुरक्षा जोखिमको मूल्याङ्कन, संवेदनशील क्षेत्रको व्यवस्थापन तथा समग्र शान्तिसुरक्षा कायम राख्ने उपायबारे विचार–विमर्श भइरहेको छ। छलफलपछि आवश्यक निर्णयहरू गरिने र त्यसअनुसार सुरक्षा व्यवस्थापनलाई थप सुदृढ बनाइने जनाइएको छ।