News Desk
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सरकारले देशभरि सुरक्षा व्यवस्था कडा बनाएको गृहमन्त्री ओमप्रकाश आर्यालले बताउनुभएको छ। राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै उहाँले सरकारको मुख्य लक्ष्य तोकिएको मितिमै निर्वाचन सम्पन्न गर्नु भएकाले मतदातालाई निर्धक्क भएर मतदान गर्न आग्रह गर्नुभयो।
गृहमन्त्री आर्यालका अनुसार निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित बनाउन एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको छ। उक्त योजनाअन्तर्गत नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागलाई परिचालन गरिएको उहाँले जानकारी दिनुभयो। सुरक्षा संवेदनशीलताका आधारमा प्रदेश र जिल्लास्तरमा आवश्यक व्यवस्थापन मिलाइएको पनि उहाँको भनाइ छ।
निर्वाचनसम्बन्धी कमान्ड पोष्ट केन्द्रमार्फत प्रदेश र जिल्लामा समन्वय भइरहेको र एकीकृत सुरक्षा संयन्त्रमार्फत निर्वाचन सेलहरू सक्रिय रूपमा परिचालन गरिएको गृहमन्त्रीले उल्लेख गर्नुभयो। गृह प्रशासनले दैनिक रूपमा अवस्था, सम्भावित चुनौती र आवश्यकताहरूको विश्लेषण गर्दै आवश्यक निर्णय गरिरहेको उहाँले बताउनुभयो।
हाल देखिएका छिटपुट झडप वा घटनाले निर्वाचन प्रक्रियामा कुनै असर नपर्ने स्पष्ट पार्दै उहाँले भदौ महिनामा भएको ‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दी तथा लुटिएका हतियार अहिले ठूलो सुरक्षा चुनौती नरहेको दाबी गर्नुभयो। अधिकांश कैदीबन्दी नियन्त्रणमा आइसकेको र हतियार पनि बरामद भइसकेको जानकारी दिँदै बाँकीलाई नियन्त्रणमा लिन थप सक्रियता बढाइएको उहाँले बताउनुभयो।
गृहमन्त्री आर्यालले फागुन २१ गते निर्वाचन नगर्ने विकल्प सरकारसँग नरहेको पनि स्पष्ट पार्नुभयो। वर्तमान सरकार निर्वाचन केन्द्रित भएकाले त्यसलाई पहिलो प्राथमिकतामा राखिएको बताउँदै उहाँले संविधानअनुसार संसद् विघटन भएको छ महिनाभित्र चुनाव गर्नैपर्ने व्यवस्था भएकाले सरकार वा कुनै पनि निकाय चुनावबाट पछि हट्ने सम्भावना नरहेको धारणा व्यक्त गर्नुभयो।