News Desk
काठमाडौँ | प्रधानमन्त्री सुशीला कार्की ले आसन्न निर्वाचनको तयारी तथा समग्र सुरक्षा अवस्थाबारे जानकारी लिन सबै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेकी छन।
प्रधानमन्त्रीले आज साँझ बालुवाटार स्थित निवासमा सुरक्षा निकायका प्रमुखहरूलाई बोलाएर निर्वाचन केन्द्रित सुरक्षा तयारी, व्यवस्थापन र समन्वयका विषयमा जानकारी लिएकी हुन।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयअन्तर्गत शान्ति–सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीलगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनका क्रममा देखिन सक्ने सम्भावित जोखिम तथा तिनको न्यूनीकरणका लागि अवलम्बन गरिएका रणनीतिबारे विस्तृत समीक्षा गरिएको जनाइएको छ।
प्रधानमन्त्री कार्कीले हालसम्मको निर्वाचन सुरक्षा तयारी सन्तोषजनक रहेको उल्लेख गर्दै सम्भावित चुनौतीप्रति संवेदनशील र सतर्क रहँदै प्रभावकारी समन्वयका साथ काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।