भयरहित वातावरणमा निर्वाचन स​म्प​न्न हुन्छ​ : गृहमन्त्री ओमप्रकाश अर्याल
News Desk
Feb-28 तारिख 06:32 बिहान

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अन्तरिम सरकार निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको बताउनुभएको छ। आज गौरमा जिल्लाको शान्तिसुरक्षाको अवस्थाबारे जानकारी लिँदै उहाँले सरकार निर्वाचन सम्पन्न गर्ने स्पष्ट लक्ष्यसहित काम गरिरहेको उल्लेख गर्नुभयो।

आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारीको अनुगमनका लागि रौतहट पुग्नुभएका गृहमन्त्री अर्यालले सरकारले मतदातालाई सुरक्षित र सहज वातावरणमा मतदान गर्ने व्यवस्था मिलाएको बताउँदै सबै नागरिकलाई मतदान प्रक्रियामा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो।

उहाँले निर्वाचन अवधिभर शान्तिसुरक्षाको प्रभावकारी व्यवस्था गरिएको जानकारी दिँदै फागुन २१ गते हुने मतदानमा सहभागी भएर लोकतान्त्रिक अधिकार प्रयोग गर्न आममतदातालाई आह्वान गर्नुभयो। साथै, कानुनविपरीत गतिविधि गर्नेलाई कुनै पनि हालतमा छुट नदिने र कडाइका साथ कारबाही गरिने स्पष्ट पार्नुभयो।

रौतहटका सुरक्षा अधिकारीलाई निर्देशन दिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकार सहजकर्ताको भूमिकामा रहेको भए पनि कानुन उल्लङ्घन गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने बताउनुभयो। निर्वाचन आयोगको आचारसंहिता उल्लङ्घन गरेमा कानुनी कारबाहीको स्पष्ट व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो।

गृहमन्त्री अर्यालले केही समूहबाट फैलाइएका अनावश्यक आशंका र अफवाहमा विश्वास नगर्न आग्रह गर्दै सरकार र आयोगको तयारी प्रभावकारी रहेको बताउनुभयो। निर्धारित मितिमै निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुनेमा कुनै द्विविधा नरहेको उहाँको भनाइ थियो।

यसअघि प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले रौतहटमा समग्र सुरक्षा तयारी पूरा भइसकेको जानकारी गराउनुभएको थियो। सीमा क्षेत्रदेखि अतिसंवेदनशील र संवेदनशील मतदान केन्द्रसम्म उच्च सुरक्षा व्यवस्था मिलाइएको र अन्य आवश्यक व्यवस्थापन कार्य पनि सम्पन्न भइसकेको उहाँले बताउनुभयो।

गृहमन्त्री अर्यालसँगै रामप्रसाद भण्डारी सहित सुरक्षा निकाय र प्रशासनका उच्च अधिकारीहरूको टोली रौतहट पुगेको जिल्ला प्रशासनले जनाएको छ।