News Desk
गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा कुनै पनि तहबाट हस्तक्षेप हुन नदिने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षणका क्रममा उनले प्रहरीलाई आगामी दिनमा अझ निडर र आत्मविश्वासका साथ आफ्नो कर्तव्य पूरा गर्न आग्रह गरे।
उनले सीमित स्रोत–साधनका बाबजुद पनि नेपाल प्रहरीले आफूलाई दिइएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्दै आएको उल्लेख गर्दै त्यसप्रति प्रशंसा व्यक्त गरे। साथै, समाजमा प्रहरीप्रति रहेको दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको औंल्याउँदै नागरिक र प्रहरीबीचको दूरी घटाउन शिष्ट व्यवहार र संवाद आवश्यक रहेको बताए।
गुरुङले प्रहरी सेवाको प्रभावकारिता बढाउन नागरिकसँगको सम्बन्धलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गरी नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन उनले निर्देशन दिए।
विपद् व्यवस्थापनजस्तो संवेदनशील क्षेत्रमा प्रहरीको भूमिका अग्रपंक्तिमा रहने भएकाले आवश्यक स्रोत–साधनको व्यवस्था तथा समयानुकूल तालिम प्रदान गरिने उनले जानकारी दिए।
त्यसैगरी, प्रहरी कर्मचारीहरूको वृत्ति विकास कार्यसम्पादनमा आधारित वैज्ञानिक प्रणालीमार्फत गरिने उल्लेख गर्दै संगठनलाई थप सुदृढ, प्रविधिमैत्री र स्रोत–साधन सम्पन्न बनाउने प्रतिबद्धता जनाए।
निरीक्षणका क्रममा गृहमन्त्री गुरुङलाई प्रहरी महानिरीक्षक दानबहादुर कार्की, अतिरिक्त महानिरीक्षक, नायव महानिरीक्षक तथा अन्य वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए। निरीक्षणपछि आयोजित कार्यक्रममा उनले भौतिक तथा भर्चुअल रूपमा सहभागी प्रहरी अधिकृत र जवानहरूलाई निर्देशनात्मक सम्बोधन गरेका थिए।