पैसाको विवादमा युवतीको हत्या, भारतीय नागरिक पक्राउ
News Desk
Jun-06 तारिख 06:10 बिहान • आज

झापा : झापाको दमकमा एक युवतीको हत्या गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको बिहार राज्य, अररिया जिल्ला, ग्राम पञ्चायत सिरसिया काल, थाना भरगाका ३४ वर्षीय राकेश कुमार पण्डित रहेका छन्। उनलाई घटनाको ९ दिनपछि पक्राउ गरी शुक्रबार साँझ जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो।

प्रहरीका अनुसार जेठ १३ गते दमक नगरपालिका–८ बसन्त टोलकी २१ वर्षीया रोमा (रमा) तिवारीको घाँटी थिचेर हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जिल्ला प्रहरी कार्यालय झापाकी एसपी बसुन्धरा खड्काले दिएको जानकारीअनुसार आरोपी पण्डित दमक–५ मा डेरा गरी टाइल्स मिस्त्रीको काम गर्दै आएका थिए।

घटना भएको राति करिब साढे ९ बजे पण्डित र रमाबीच भेट भएको र उनीहरू मोटरसाइकलमा डेरा नजिकको बाँसघारीमा पुगेको अनुसन्धानबाट देखिएको छ। त्यहाँ पैसासम्बन्धी विवादपछि विवाद चर्किएको थियो।

झगडाको क्रममा पण्डितले सुरुमा रमाको घाँटी थिचेर बेहोस बनाएको र त्यसपछि पाइप प्रयोग गरी घाँटी कसेर हत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ।

हत्या पछि उनले शवलाई प्लास्टिकको बोरामा हालेर भारतीय नम्बर प्लेट भएको मोटरसाइकल (बीआर ३८ एएम ३७७८) मा राखी दमक–१० स्थित रतुवा खोलाको पुलमुनि फालेको बताइएको छ।

घटना चार दिनपछि शव फेला परे पनि पहिचान खुल्न नसकेको अवस्थामा मृतकको हातमा रहेको ट्याटुको आधारमा उनको पहिचान जेठ १७ गते खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानका क्रममा सीसीटीभी फुटेज, मोबाइल लोकेसन र प्राविधिक विश्लेषणको सहायताले आरोपीको पहिचान गरिएको हो। कोशी प्रदेश प्रहरी कार्यालय, धरान प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय दमकको संयुक्त टोलीले अनुसन्धान अघि बढाएको थियो।

भारततर्फ फरार भएका आरोपी पछि फेरि दमकस्थित डेरामा फर्किएपछि बिहीबार राति ११ बजे उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनको साथबाट तीन थान मोबाइल बरामद गरिएको छ।

पण्डितविरुद्ध ज्यान सम्बन्धी कसुर तथा जबरजस्ती करणीसम्बन्धी मुद्दामा झापा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

धेरै पढिएको