News Desk
काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूको सहमतिअनुसार नै तोकिएको मितिमा १४औं महाधिवेशन गर्ने या सार्ने बताएका छन्।
बुधबार पार्टी केन्द्रीय कार्यालयले जननेता बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा गरेको विचार गोष्ठी भर्चुअल कार्यक्रमा बोल्दै सभापति देउवाले परिस्थिति प्रतिकूलताका कारण महाधिवेशनका विषयमा सो धारणा राखेका हुन्।
तोकिएकै मितिमा महाधिवेशन भए पनि र त्यसभन्दा पछि भए पनि स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउँदै देउवाले भने,´ साथीहरू जे भन्नुहुन्छ त्यही गर्नुपर्छ। महाधिवेशन सार्नुपरे कहिले सार्ने सारौं।´
पार्टीका अर्का पक्षले विधान विपरित पार्टी सञ्चालन गरेको आरोप लगाइरहँदा देउवाले आफू विधानअनुसार नै चलेको दाबी गरे। ´पार्टीको विधान विपरित जान सक्दिन।´
सभापति देउवाले पार्टीमा फुट होइन, जुटको आवश्यकता रहेको बताउँदै पार्टी एकताको पक्षमा आफू लागिपरेको बताए। 'पार्टी छोड्न नपरोस् भनेर लागि परेको छु। सबै एक हुनु जरुरी छ,´ उनले भने।
कार्यक्रममा देउवाले बिपीको सिद्धान्त पार्टीमा लागू नभएको पनि बताए। उनले भने,´बिपीको सिद्धान्त पार्टीमा लागू भएको छैन। सिद्धान्तलाई अगाडि बढाउनुपर्छ।´
प्रजातान्त्रका लागि बिपी कोइरालाले जिन्दगीभर दु:ख पाएको स्मरण गर्दै देउवाले प्रजातान्त्र र राष्ट्रियताका विषयमा कसैसँग सम्झौता नगरेको बताए। उनले भने, ´प्रजातान्त्रका लागि बिपीले जिन्दगीभर दु:ख पाउनुभयो। प्रजातान्त्र र राष्ट्रियताका विषयमा कसैले हल्लाउन सकेन। कसैसँग सम्झौता गर्नुभएन।´