नेता बालकृष्ण खाणका हकमा न्यायाधीशको राय बाझियो
News Desk
Dec-02 , 2023 तारिख 01:23 बेलुका

अमेरिका पठाइदिन्छु भनी नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउन खोज्ने गिरोहमा कोको संलग्न छन र को छैनन भन्ने विवाद काठमाडौँ जिल्ला अदालतमा विचाराधीन छ। प्रहरी अनुसन्धानमा आधारित रहेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रको मूल विषयमा सुनुवाइ प्रवेश गरेकै छैन। केवल अभियुक्तहरूलाई थुनामा पठाउने कि बाहिरै राखेर मुद्दाको कारवाही अगाडि बढाउने भन्ने विवादकै चरणमा यो मुद्दा रहेको छ।

यस प्रकरणमा सरकारी वकिलले अभियुक्त कायम गरेका ३० मध्ये १० जना अझै फरार नै छन। बाँकी २० जनालाई थुनामै राखेर मुद्दाको बाँकी कारवाही अघि बढाउने कि उनीहरूले बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउँछन भन्ने विषयचाहिँ जिल्ला हुँदै उच्च अदालत पुगेको थियो।

उच्च अदालतले पनि १९ जनाका हकमा आफ्नो अन्तिम आदेश दिएको छ। जसअनुसार ९ जनाले जिल्ला अदालतको आदेशअनुसारै थुनामै बस्नुपर्ने भएको छ। जिल्ला अदालतले थुनामा पठाएका केही अभियुक्तलाई उच्च अदालतले धरौटीमा राखेर रिहा हुन बाटो खोलिदिएको छ।

तर, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणका हकमा भने दुई न्यायाधीशको राय बाझिउको छ।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको इजलासमा मंसिर ५ गतेदेखि चलेको लगातारको सुनुवाइपछि शुक्रबार जारी आदेशमा खाणका हकमा मात्र राय बाझिएको हो। अब तेस्रो न्यायाधीशको इजलासमा यो आदेश पेस हुने अदालतका उपरजिस्ट्रार तीर्थराज भट्टराईले बताए।

तेस्रो न्यायाधीशले जे आदेश दिनेछन्, त्यसैलाई बहुमतको आदेश मानी कार्यान्वयनमा जानेछ।

यद्यपि, यी सबै अभियुक्तका हकमा उच्च अदालतले दिएको आदेश चित्त नबुझ्ने पक्ष सर्वोच्च अदालतसम्म पुग्ने बाटो खुलै छ।

 

धेरै पढिएको