News Desk
काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण पहिरो र लेदोले अवरुद्ध बनेको बीपी राजमार्ग आइतबार साँझदेखि पुनः सञ्चालनमा आएको छ। सडकमा थुप्रिएको पहिरो, ढुङ्गा तथा लेदो हटाएपछि यातायात सेवा सुचारु भएको हो।
शुक्रबार र शनिबार भएको निरन्तर वर्षाका कारण काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि नेपालथोकसम्मका विभिन्न स्थानमा पहिरो खस्नुका साथै सडकमा लेदो र ढुङ्गा थुप्रिएको थियो। यसका कारण शनिबार बिहानदेखि नै राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार आइतबार बिहानदेखि डोजर परिचालन गरी सडक सफा गर्ने काम थालिएको थियो। वर्षा रोकिएपछि सुरक्षाकर्मी तथा प्राविधिक टोलीको सहयोगमा अवरुद्ध सडक खुलाउने कामलाई तीव्रता दिइएको थियो।
राजमार्ग बन्द हुँदा पूर्वी नेपालबाट काठमाडौँ आउने तथा राजधानीबाट पूर्वतर्फ जाने सयौँ सवारीसाधन बीच बाटोमै रोकिएका थिए। पूर्वतर्फ जाने करिब ३०० देखि ४०० वटा सवारीसाधन भकुण्डेबेँसीमा रोकिएका थिए भने तराई क्षेत्रबाट काठमाडौँ आउँदै गरेका सयौँ सवारीसाधन नेपालथोकमा अलपत्र परेका थिए।
सडक सञ्चालनमा आएपछि यातायात केही सहज बने पनि राजमार्गका विभिन्न स्थानमा सडक साँघुरो र एकतर्फी रहेकाले यात्रा अझै जोखिमपूर्ण रहेको छ। विशेषगरी रातिको समयमा यात्रा गर्दा चालक तथा यात्रुले थप सावधानी अपनाउनुपर्ने अवस्था छ।
पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई काठमाडौँसँग जोड्ने छोटो दूरीको महत्वपूर्ण मार्ग बीपी राजमार्ग २०८१ असोजमा रोशी खोलामा आएको बाढीका कारण गम्भीर रूपमा क्षतिग्रस्त भएको थियो। बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २८ किलोमिटर सडकमा क्षति पुर्याएको थियो। त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फ २५.११ किलोमिटर सडक प्रभावित भएको थियो।
हाल बाढीबाट क्षतिग्रस्त सडकका चार खण्डमा पुनर्निर्माणको काम भइरहेको छ। पुनर्निर्माण सम्पन्न नभइसकेकाले डाइभर्सनमार्फत सवारीसाधन सञ्चालन हुँदै आएका छन्।
सडक खुले पनि साँघुरो मार्ग, एकतर्फी आवागमन र अस्थायी डाइभर्सनका कारण बीपी राजमार्गमा यात्रा गर्दा विशेष सतर्कता अपनाउनुपर्ने देखिएको छ।